
काठमाडौँ, असोज २२ गते ।
ट्रेलमान्डु नेपालको आयोजनामा केभीआर समिट च्यालेन्ज शनिबारदेखि सुरु हुने भएको छ । यो ट्रेल रनिङ प्रतियोगिता हरेक महिना आयोजना हुने नियमित श्रृंखला हो ।
काठमाडौं उपत्यकालाई घेर्ने पाँच प्रमुख हिमाल—फुलचोकी, शिवपुरी, भस्मासुर, चन्द्रागिरी र जामाचोमध्ये एउटाको शिखरसम्म पुग्ने २० देखि ३० किलोमिटरको कठिन दौड यस प्रतियोगिताको मुख्य आकर्षण हुनेछ ।
ट्रेलमान्डुले यसअघि दुई सत्र सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यस वर्षको संस्करणमा परिवारमैत्री वातावरण सृजना गर्ने लक्ष्यसहित आयोजना हुँदैछ । सहभागीहरूले फरक–फरक दूरीमा दौडिन वा पैदल यात्रा गर्दै प्रकृतिको आनन्द लिन सक्नेछन् ।
नयाँ धावकहरू र बिस्तारै दृश्यावलोकन गर्न चाहनेका लागि ७ देखि १० किलोमिटर दूरीको ‘फन रन/हाइक’ पनि राखिएको छ, जुन परिवार र साथीहरूका लागि उपयुक्त ट्रयाकका रूपमा तयार गरिएको हो ।
यो वर्षको पहिलो प्रतिस्पर्धामा हालसम्म अमेरिका, जापान, फ्रान्स, नर्वे, भारतलगायत १३ देशका ८० भन्दा बढी धावकले दर्ता गरिसकेका छन् । इच्छुक धावकहरूले शुक्रबार बिहान १० बजेसम्म आयोजकको वेबसाइटमार्फत अनलाइन दर्ता गर्न सक्नेछन् ।
रेस निर्देशक आशिष मिश्रका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । उहाँले भन्नुभयो, “हामीले यो प्रतियोगितालाई सकेसम्म रमाइलो, प्रतिस्पर्धात्मक र प्रेरणादायी बनाउन प्रयास गरेका छौं । यसको उद्देश्य ट्रेल रनिङ समुदायलाई सक्रिय राख्नुका साथै नेपालमा स्वस्थ जीवनशैली र खेल पर्यटन प्रवर्द्धन गर्नु हो ।”
यो सत्रको केभीआर समिट च्यालेन्जमा पाँच चरण रहने छन् — पहिलो रेस अक्टोबर ११, दोस्रो नोभेम्बर ८, तेस्रो डिसेम्बर ८, चौथो सन् २०२६ जनवरी १० र पाँचौं फेब्रुअरी १ मा आयोजना हुनेछ ।
“स्वस्थ रहौं, रमाइलो गरौं र ट्रेलमै नेपाललाई चिनाऔं” भन्ने नारासहित ट्रेलमान्डु नेपालले प्रतियोगिता आयोजना गर्दैछ ।





