एसियाली टेबलटेनिस टिम च्याम्पियनसिपका लागि नेपाली टोली भारत प्रस्थान गर्दै



काठमाडौँ, असोज २२ गते ।
एसियाली टेबलटेनिस टिम च्याम्पियनसिपको २८औँ संस्करणमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली भारतको उडिसा प्रस्थान गर्ने भएको छ ।

अक्टोबर ११ देखि १५ तारिखसम्म उडिसाको भुवनेश्वरस्थित कलिंगा एथलेटिक्स एचपीसी बिल्डिङमा आयोजना हुने प्रतियोगितामा नेपालले पुरुषतर्फ संयोग कपाली, रुविन महर्जन र राजीव चिकन्बञ्जार तथा महिलातर्फ नवीता श्रेष्ठ, वियंका राई र इभाना थापासहित ३÷३ खेलाडीमार्फत प्रतिस्पर्धा गर्नेछ । टिम इभेन्ट अन्तर्गत ५ सिंगल्स खेल हुनेछ ।

टोलीको नेतृत्व अखिल नेपाल टेबलटेनिस संघका महासचिव कुबेरप्रकाश सिंहले गर्नेछन् भने प्रशिक्षकमा मोहनदास बासुकला रहेका छन् । प्रतियोगितामा २२ राष्ट्रका टोली सहभागी हुने प्रशिक्षक बासुकलाले जानकारी दिएका छन् ।

गत जुलाइमा नेपालमै सम्पन्न विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली क्षेत्रीय छनोट प्रतियोगिताका नतिजाका आधारमा खेलाडी छनोट गरिएको टेबलटेनिस संघले जनाएको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाललगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्