
बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–६ पातिहाल्नेदेखि पूर्वी रुकुमको भूमे गाउँपालिका–१ रुपगासम्मको १३ किलोमिटर सडक एक दशक बितिसक्दा पनि पूरा हुन सकेको छैन । निर्माण कार्य समयमै सम्पन्न नहुँदा यो मार्गबाट आवागमन गर्ने सर्वसाधारण वर्षौंदेखि दुःख भोग्न बाध्य भएका छन् ।
निर्माण व्यवसायीको लापरबाहीका कारण सडक कालोपत्र गर्ने काम तोकिएको म्यादभित्र सकिएको छैन । विसं २०७३ जेठ १३ भित्र सम्पन्न गर्न सम्झौता भए पनि हालसम्म करिब ७० प्रतिशत मात्र काम भएको दैलेखस्थित मध्यपहाडी लोकमार्ग कार्यालयका सूचना अधिकारी नवीन खरालले बताए ।
उनका अनुसार लोकमार्ग अन्तर्गतको उक्त खण्ड कालोपत्र गर्न रु ४२ करोड ९९ लाख चार हजारमा सम्झौता गरिएको थियो । पटक–पटक म्याद थप्दा पनि सम्झौताअनुसार काम सम्पन्न नगरेको निर्माण कम्पनीलाई निर्देशन दिइएको उनले बताए ।
“मध्यपहाडी लोकमार्गमा अहिले दैनिक सयौँ सवारीसाधन चल्छन् । पातिहाल्नेदेखि रुपगासम्मको भाग कालोपत्र गर्न तयारी पूरा भए पनि निर्माण कम्पनी लामो समयदेखि सक्रिय नभएपछि निर्माण भएका संरचना समेत नष्ट हुन थालेका छन्,” सूचना अधिकारी खरालले भने ।





