तिहारका लागि मादल बनाउन व्यस्त चित्रे बादी |



दाङ । कमेरोले लिपिएको सानो कच्ची घर, घरको आँगनमा ठूला–साना मादलको थुप्रो । त्यसैबीच घोराही उपमहानगरपालिका–१७ पचुर्खाका चित्रे बादी एकनासले मादलमा खरी भर्दै व्यस्त छन् ।

तिहार नजिकिँदै जाँदा चित्रे बादीको मादल बनाउने र मर्मत गर्ने काममा व्यस्तता थपिएको छ । उनका अनुसार वर्षको अन्य समयमा भन्दा तिहारमा मादलको माग धेरै हुन्छ । “तिहारमा मादल राम्रो बिक्री हुन्छ, त्यसैले आम्दानी पनि राम्रो हुन्छ,” उनले भने ।

७० वर्षीय बादीका अनुसार उनी १२ वर्षको उमेरदेखि मादल बनाउँदै आएका हुन् । “बुबा गुइँठे बादी मादल बनाउनुहुन्थ्यो, उहाँकै बाटो पछ्याउँदै यो पेशा समातेँ,” उनले स्मरण गरे । अहिले बिहानदेखि बेलुका अन्धकार नछाउने गरी मादलको काममै व्यस्त हुने गरेका छन् । यही पेशाबाट उनले चार छोरा र दुई छोरी हुर्काएको र घर खर्च समेत चलाएको बताए ।

तिहारमा देउसी–भैलो खेल्ने समूह हरेक वर्षजस्तो उनको घरमा नयाँ मादल किन्न, खरी हाल्न, कस्न वा छाला फेर्न आउने गर्छन् । नयाँ मादलको आकारअनुसार मूल्य रु ७ हजारदेखि १५ हजारसम्म पर्ने गर्छ ।

उनको घरमा घोराही, तुलसीपुर, नारायणपुर, लमही, प्युठान र रोल्पासम्मका ग्राहक मादल किन्न आउने गर्छन् ।

चित्रे बादीलाई काममा श्रीमती भूमि बादीले सहयोग गर्छिन् । “म नयाँ मादल बनाउन जान्दिनँ, तर खरी बनाउन, छाला काट्न र तयारीमा सहयोग गर्छु,” उनले भनिन् । उनका कान्छा छोरा पनि अहिले मादल बनाउन सिक्दै छन् ।

मादल बनाउन बादीले खिर्रो, मौवा, मलेतो र खमारीका काठ प्रयोग गर्छन् । मौवा र खमारीको काठबाट बनेका मादलको स्वर बढी मधुर हुने उनको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्