
भोजपुर । पछिल्ला वर्षहरूमा भोजपुरका किसान व्यावसायिक मौरीपालनतर्फ तीव्र रूपमा आकर्षित भइरहेका छन् । कम लागतमा सुरु गर्न सकिने, सामान्य हेरचाहमै राम्रो उत्पादन हुने र बजारमा सजिलै माग हुने भएकाले मौरीपालन किसानको मनपर्ने पेसा बन्दै गएको हो ।
परम्परागत खेतीसँगै नयाँ आयआर्जनका स्रोत खोजिरहेका किसानहरूले अहिले मौरीपालनलाई प्रमुख आम्दानीको साधनका रूपमा अंगाल्न थालेका छन् । टेम्केमैयुङ, पौवादुङमा, रामप्रसादराई गाउँपालिकालगायत अधिकांश स्थानीय तहका किसानहरू मौरीपालनमा संलग्न छन् ।
रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठे क्षेत्रमा मौरीपालनको विशेष सम्भावना रहेको छ । प्रशस्त वनजङ्गल, फूल फुल्ने वातावरण र मौरीका लागि उपयुक्त मौसमका कारण बाक्चाखा, भामला, छापगाउँलगायत स्थानका किसानहरू व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् ।
स्थानीय सरकारको पहलले मौरीपालन अझ सहज र प्रभावकारी बन्दै गएको छ । रामप्रसादराई गाउँपालिका–६ का वडाध्यक्ष एकराज आचार्यका अनुसार किसानहरूलाई आधुनिक मौरीपालनमा प्रोत्साहित गर्न दुई चरणमा तालिम प्रदान गरिएको छ । “तालिममार्फत किसानले आधुनिक मौरीघार बनाउने, मौरीको हेरचाह गर्ने, रोग व्यवस्थापन र मह सङ्कलनका प्रविधि सिकेका छन्,” आचार्यले बताए ।
उनका भनाइमा, विगतमा किसानहरू मुढेघारमा मौरी पाल्दै आएका भए पनि अहिले उनीहरू प्रविधिमैत्री मौरीपालनतर्फ उन्मुख भएका छन्, जसले उत्पादन वृद्धि र आम्दानी दुवैमा सुधार ल्याएको छ ।
त्यस्तै, स्थानीय किसान शरणकुमार वोहोरा व्यावसायिक मौरीपालनमा उदाहरणीय पात्र बनेका छन् । तालिमपछि उनले ३५ वटा आधुनिक मौरीघार स्थापना गरेका छन् । “पहिले मुढेघारमा उत्पादन कम हुन्थ्यो, अहिले आधुनिक घारमा मौरी राख्दा उत्पादन धेरै बढेको छ,” उनले बताए, “मौरीपालनले मेरो आयआर्जनमा ठुलो परिवर्तन ल्याएको छ ।”
गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार मौरीपालनलाई प्रोत्साहनका लागि गाउँपालिकाको नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिएको छ । “कृषि व्यवसायलाई आत्मनिर्भर र व्यावसायिक बनाउन योजनाबद्ध रूपमा काम भइरहेको छ,” उनले बताए, “किसानलाई आवश्यक प्राविधिक सहयोग र उपकरण उपलब्ध गराइएका छन्, जसले रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ बनाउनेछ ।”
किसानहरूका अनुसार मौरीपालनले वैदेशिक रोजगारीको विकल्पका रूपमा गाउँमै आत्मनिर्भर बन्ने अवसर दिएको छ । बजार विस्तार, गुणस्तरीय प्याकेजिङ र ब्राण्डिङ गर्न सके भोजपुरमा उत्पादित मह देशभित्र मात्र नभई विदेशमा समेत निर्यात गर्ने सम्भावना रहेको उनीहरूको भनाइ छ ।





