करिब एक वर्षपछि निर्माण सम्पन्न भयो गौरीघाट पुल |



काठमाडौँ । पशुपति क्षेत्रस्थित गौरीघाटदेखि गुह्येश्वरी मन्दिर जाने पुल करिब एक वर्ष अलपत्र भएपछि पुनः निर्माण सम्पन्न भएको छ । आधुनिक निर्माण सामग्री प्रयोग गर्न खोज्दा पुरातत्त्व विभागले रोकेपछि रोकिएको पुल पुनः पुरानै स्वरूपमा निर्माण भएको हो ।

राष्ट्रिय समाचार समिति (रासस) ले गत साउन दोस्रो साता पुल निर्माण रोकिँदा भक्तजनलाई परेको असुविधाबारे समाचार प्रकाशित गरेको थियो । त्यसपछि काठमाडौँ महानगरपालिकाले पुललाई पुरानै स्वरूपमा निर्माण गर्न सहमति जनाएको हो ।

सात महिना अघि पुनःनिर्माणका लागि भत्काइएको पुल लामो समयसम्म अधुरो रहँदा भक्तजन आवतजावतमा समस्यामा परेका थिए । विश्व सम्पदा क्षेत्रमा निर्माण गर्दा आवश्यक मापदण्ड नअपनाई आधुनिक शैलीमा काम सुरु गरेपछि पुरातत्त्व विभागले काम रोक्न लगाएको थियो ।

विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार निर्माण व्यवसायीले नयाँ सामग्री प्रयोग गर्न खोजेपछि विभागले पुरानै शैलीमा निर्माण गर्न निर्देशन दिएको थियो । “प्राचीन सामग्रीकै प्रयोग गर्ने सहमति भएपछि निर्माणलाई अनुमति दिइएको हो,” उनले बताए ।

काठमाडौँ महानगरपालिका–८ का अध्यक्ष तथा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सँगतका अनुसार पुल अब विभागको निर्देशनअनुसार ऐतिहासिक स्वरूपमा नै पुनःनिर्माण गरिएको छ ।

पुल बन्द हुँदा पशुपति क्षेत्रका भक्तजनलाई गुह्येश्वरी मन्दिर पुग्न घुम्नुपर्ने अवस्था थियो । पैदल यात्रु र साना सवारीसाधनका लागि सहज बाटो नहुँदा वर्षभर असुविधा व्यहोर्नु परेको थियो ।

गुह्येश्वरीमा धार्मिक अभियान सञ्चालन गर्दै आएका धर्मराज बरालका अनुसार पुल नहुँदा पशुपति क्षेत्र आउने पर्यटकहरू पनि प्रभावित भएका थिए । पुरानो पुल भत्काउँदा निकालिएका ऐतिहासिक इँटा चोरी भएको स्थानीयले बताएका छन् ।

स्थानीय तथा गौरी आध्यात्मिक मासिक पत्रिकाका सम्पादक अर्जुन लामिछानेका अनुसार श्री ५ त्रिभुवन र श्री ३ चन्द्रशम्शेरका नाम लेखिएका इँटा हराएको बताउँदै, “यी पुरातात्त्विक महत्वका इँटा कहाँ गए भनेर सरोकार निकायले स्पष्ट पार्नुपर्छ,” उनले माग गरे ।

प्रतिक्रिया दिनुहोस्