
सुनसरी । गत शनिबार र आइतबार परेको अविरल वर्षा र तीव्र हावाहुण्डरीका कारण सुनसरीका विभिन्न स्थानका केराखेतीमा ठूलो क्षति पुगेको छ ।
सदरमुकाम इनरुवा, भोक्राहा र हरिनगरलगायत क्षेत्रका किसानका बालीमा व्यापक असर परेको स्थानीयहरू बताउँछन् । आठ वर्षदेखि व्यावसायिक रूपमा केराखेती गर्दै आएका भोक्राहा नरसिंह गाउँपालिका–२ का एयुब साहमियाँले सात बिघा जग्गा भाडामा लिएर रु छ लाख बैंक ऋणमा खेती गर्दै आएका थिए । तीमध्ये तीन बिघा एक कट्ठा क्षेत्रफलको केराखेतीमा पूर्ण क्षति पुगेको उनले बताए ।
उनका अनुसार करिब रु १३ लाखभन्दा बढीको नोक्सानी भएको छ । हरेक वर्ष बाढी र वर्षाका कारण रु १० देखि २५ लाखसम्मको क्षति हुने गरेको उनले बताए ।
त्यस्तै, स्थानीय वीरेन्द्र ठाकुरले सात कट्ठा क्षेत्रफलमा रु एक लाख लगानी गरेर लगाएको केराखेती पनि नष्ट भएको किसानहरूले बताएका छन् । सुनसरीका किसानले हरेक वर्षजस्तै यसपालि पनि प्राकृतिक विपत्तिका कारण ठूलो आर्थिक क्षति व्यहोर्नु परेको गुनासो गरेका छन् ।
कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहका अनुसार यस वर्ष जिल्लामा ५३० हेक्टर क्षेत्रफलमा केराखेती गरिएको छ । बाढी र हुण्डरीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको उनले जानकारी दिए ।





