
गोरखा । सामान्यतया पुस–माघमा मात्रै हिमपात हुने उत्तरी गोरखामा यस वर्ष असोजमै हिउँ परेको छ । हिमालपारिको चुमनुब्री गाउँपालिका–१ साम्दोमा सोमबार हिमपात भएपछि स्थानीय जनजीवन प्रभावित बनेको छ ।
साम्दोका निमा ग्याल्जेन लामाका अनुसार यो असोजको हिउँ सामान्यतया जाडो महिनामा पर्ने हिउँभन्दा गह्रौँ हुन्छ, जसले आलुजस्ता बालीमा असर पुर्याउने सम्भावना रहन्छ । उनले भने, “हाल हिमपात बाक्लो नभएकाले बालीमा तत्काल असर देखिएको छैन ।”
उनका अनुसार दिउँसोतिर घाम लाग्न थालेपछि हिउँ बिस्तारै पग्लिँदै गएको छ । अब मौसम स्थिर भएलगत्तै किसानले खेतीबाली भित्र्याउने तयारी गरिरहेका छन् ।
समुद्री सतहदेखि करिब तीन हजार ८९० मिटर उचाइमा अवस्थित साम्दोमा मुख्यतया आलु र फापर खेती हुन्छ । यहाँका अधिकांश बासिन्दाको प्रमुख पेशा पर्यटन रहेको छ ।
हिउँ परेपछि गाउँको दृश्य झनै आकर्षक बनेको र त्यससँगै मनास्लु आरोहण सिजन सुरु भएकाले पर्यटकको चहलपहल बढेको स्थानीयले बताएका छन् ।





