चाडपर्वमा दूध र दुग्धजन्य पदार्थको स्वच्छतामा ध्यान दिन काठमाडौँ महानगरको आग्रह



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चाडपर्वको समयमा दूध र दुग्धजन्य खाद्य पदार्थको स्वच्छता र गुणस्तरप्रति विशेष ध्यान दिन उपभोक्ता र व्यवसायीलाई आग्रह गरेको छ ।

महानगरको कृषि तथा पशुपन्छी विभागका विभागीय प्रमुख नुरनिधि न्यौपानेका अनुसार चाडपर्वका बेला दूध र त्यसका उत्पादनहरूको उपभोग अत्यधिक हुने भएकाले स्वच्छता र गुणस्तरमा लापरबाही भए स्वास्थ्य जोखिम बढ्ने सम्भावना रहन्छ । विशेष गरी बालबालिका र वृद्धवृद्धा बढी संवेदनशील हुने भएकाले उनीहरूले उपभोग गर्ने दूधजन्य वस्तु अझ सुरक्षित हुनुपर्ने उनले बताए ।

“दूध र दुग्धजन्य वस्तु सबैको दैनिक आहाराको हिस्सा हो । त्यसैले सानो गल्तीले पनि स्वास्थ्यमा समस्या ल्याउन सक्छ,” न्यौपानेले भने । “दूधमा प्रयोग हुने पानीको गुणस्तर, भण्डारण र ढुवानीको तरिका, बिक्रीका लागि प्रयोग गरिने प्लास्टिक वा रबरका कन्टेनरको स्वच्छता आदिमा व्यवसायीहरू सचेत रहनुपर्छ ।”

उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि महानगरले खाद्य स्वच्छता तथा गुणस्तर कायम राख्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही कार्यक्रमअन्तर्गत महानगरका सल्लाहकार सन्तोष गिरीले डेरी पसल र साना दूध प्रशोधन व्यवसायलाई सुदृढ र व्यवस्थित बनाउन सुधार कार्यक्रम अघि बढाउने तयारी भइरहेको बताए ।

उनका अनुसार दूध व्यवसायसँग सम्बन्धित कानुनी प्रावधान, स्वच्छता मापदण्ड, प्रशोधन र भण्डारण स्थलको अवस्था, लेबलिङ प्रक्रिया, बिक्री–वितरण प्रणाली र उत्पादनको स्वाद परीक्षणलगायत विषयमा निरन्तर सुधार र अनुगमन आवश्यक छ ।

विश्व स्वास्थ्य सङ्गठन (WHO) का तथ्याङ्कअनुसार दूषित खानपानका कारण विश्वभर वार्षिक करिब ६० करोड मानिस बिरामी पर्छन् र झन्डै चार लाख २० हजारको मृत्यु हुन्छ । विज्ञहरूका अनुसार रोग लागेपछि उपचार खोज्नेभन्दा पहिल्यै स्वच्छता र सावधानीमा जोड दिनु दीर्घकालीन समाधान हो ।

नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दीपकप्रसाद धमलाले दुग्ध व्यवसायमा सरसफाइ र स्वच्छता सुनिश्चित गर्न नियमित प्रशिक्षण र सचेतना कार्यक्रम आवश्यक रहेको बताए । “हरेक वर्ष नयाँ व्यवसायी र प्रविधि भित्रिन्छन्, तर सिकेका कुरालाई व्यवहारमा उतार्ने अभ्यास कम छ । त्यसैले निरन्तर तालिम र जनचेतना अभियान आवश्यक छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्