सङ्खुवासभामा अलैँचीको मूल्य घट्दै, प्रतिमन ८० हजारमा कारोबार



किमाथाङ्का (सङ्खुवासभा) । यस वर्ष सङ्खुवासभामा अलैँचीको मूल्य घटेको छ । गत वर्ष प्रतिमन (४० किलो) रु ९० हजारमा कारोबार भएको अलैँची अहिले प्रतिमन रु ८० हजारमा झरेको छ ।

एक दशकअघिदेखि निरन्तर ओरालो लाग्दै आएको अलैँचीको मूल्य गत वर्ष केही सुधार देखिए पनि यो वर्ष पुनः घटेको हो । अलैँची व्यवसायी महासङ्घ सङ्खुवासभाका अध्यक्ष कुमार श्रेष्ठका अनुसार गतवर्ष प्रतिमन रु एक लाख १० हजारसम्ममा कारोबार भए पनि अहिले प्रतिमन रु ८० देखि ८२ हजारमा सीमित भएको छ ।

उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग घट्नु र उत्पादन बढ्नु मूल्य घट्ने मुख्य कारण बनेका हुन् । श्रेष्ठले भने, “ग्रेडिङ राम्रो भएको अलैँची रु ८२ हजार र ग्रेडिङ नभएको रु ८० हजारमा कारोबार भइरहेको छ ।”

‘कालो सुन’ भनेर चिनिने अलैँची नेपालको प्रमुख निर्यातयोग्य वस्तु हो । कुल उत्पादनको करिब ९८ प्रतिशत विदेश निर्यात हुने गरेको छ । हाल सङ्खुवासभामा करिब २ हजार ८७१ हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आएको छ, जसबाट गत वर्ष ९४० मेट्रिक टनभन्दा बढी उत्पादन भएको थियो ।

पूर्वी पहाडी जिल्लाका किसानहरूको प्रमुख आम्दानी स्रोतको रूपमा रहेको अलैँची खेतीबाट किसानहरू भने अपेक्षित फाइदा लिन नसकेको गुनासो गर्छन् । व्यवसायीका अनुसार अलैँचीलाई गुणस्तरका आधारमा ‘क’, ‘ख’ र ‘ग’ गरी तीन श्रेणीमा वर्गीकरण गरिन्छ, जसअनुसार मूल्य पनि फरक हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्