
मुस्ताङ । दशैं सकिएसँगै मुस्ताङका किसानहरू अहिले परम्परागत रैथाने बाली फापर थन्क्याउन व्यस्त छन् । तल्लो क्षेत्रका घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाका किसानले खाद्य बाली फापर काट्ने, सुकाउने र केस्रा निकाल्ने कार्यलाई तीव्र बनाएका हुन् ।
फापर यहाँको प्रमुख रैथाने बाली हो, जसलाई घरायसी प्रयोजनका साथै धार्मिक अनुष्ठान र विदेशमा बस्ने आफन्तजनलाई कोसेलीका रूपमा पठाइने गर्छ । घरपझोङ–५ ठिनीकी किसान प्रमिला गुरुङ थकालीका अनुसार खेतमा छरेको फापर झन्डै सय दिनमै भित्र्याउन योग्य हुन्छ । उनले भनिन्, “फापर काटेर तीन दिन सुकाएपछि लौरीको सहायताले केस्रा निकालिन्छ, डाँठ भने पशुचौपायाका लागि परालको रूपमा प्रयोग गरिन्छ ।”
जिल्लामा मिठे र तिते गरी दुई प्रकारका फापर खेती हुने गर्छ । मिठे फापर तलका क्षेत्रमा बढी लगाइन्छ भने केही किसानले पछिल्लो समय आधुनिक प्रविधि प्रयोग गरी फापरको केस्रा सङ्कलन गर्न थालेका छन् ।
समुन्द्री सतहदेखि करिब १,९८४ देखि ३,९०० मिटर उचाइसम्म फापरखेती गरिन्छ । मुस्ताङको चिसो हावापानीमा उत्पादन हुने फापर स्वादिलो र पोषिलो मानिन्छ । तलका क्षेत्रमा असार–साउनमा छरेको मिठे फापर असोजमा घर भित्र्याइन्छ भने तिते फापर साउन–भदौमा छरेर कात्तिकतिर संकलन गरिन्छ । उपल्लो मुस्ताङमा वैशाखमा छरेर कात्तिकमा फापर भित्र्याइन्छ ।
तर, जलवायु परिवर्तनका असर फापर खेतीमा देखिन थालेका छन् । किसान पाल्साङ गुरुङका अनुसार यस वर्ष फापरमा खुम्ले कीराको प्रकोप देखिएको छ भने गतवर्ष तुषारोले बाली प्रभावित बनायो । उनले भने, “हामी स्याउ बगैँचाभित्र अन्तरबालीको रूपमा फापर लगाउँछौं, जसले दोहोरो आम्दानी दिन्छ ।”
फापरको ढिडो र रोटी यहाँका मुख्य परिकार हुन् । सहर बजारमा पनि यसको माग बढ्दो छ । एक किलो मिठे फापरको मूल्य अहिले करिब १,२०० रुपैयाँ पर्छ ।
फापर बोट करिब एक मिटर अग्लो हुन्छ । मिठे फापरमा हल्का गुलाबी फूल र कालो केस्रा पाइन्छ भने तिते फापरमा सेतो फूल हुन्छ । स्थानीय पानी घट्ट र मिलमा पिसेर फापरको पिठो तयार पारिन्छ ।
हाल किसानहरूले फापरलाई व्यावसायिक रूपमा भने अपनाएका छैनन् । घरायसी प्रयोजनमै सीमित यो बालीको प्रवर्द्धनका लागि स्थानीय सरकार सक्रिय छ । घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीका अनुसार रैथाने खाद्य बाली संरक्षण र प्रवर्द्धनका लागि किसानलाई तालिम, अनुदान र प्रोत्साहन कार्यक्रम सञ्चालन भइरहेको छ ।
पोषणविद्हरूका अनुसार फापरबाट २४ भन्दा बढी पोषक तत्व प्राप्त हुन्छ । यसले रगतमा कोलेस्ट्रोल घटाउने, पित्तको पत्थरी रोक्ने, मोटोपना नियन्त्रण गर्ने र रक्तचापका बिरामीका लागि उपयोगी मानिन्छ । फापरमा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, चिल्लो पदार्थ, भिटामिन र मिनरल प्रशस्त मात्रामा पाइन्छ ।





