
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीमा गएको पहिरोका कारण कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ ।
यो सडक म्याग्दीको उत्तरी क्षेत्रका रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामार्फत हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य मार्ग हो । साथै, यही मार्ग भारत र चीनसँग जोड्ने रणनीतिक सडकको रूपमा पनि प्रयोग हुँदै आएको छ ।
कालीगण्डकी नदी किनारदेखि भगवतिको माझखर्कसम्मको क्षेत्रमा जमिन चिरा परेर पहिरो खस्दा बीचको सडक अवरुद्ध बनेको स्थानीय व्यापारी भोजबहादुर थापाले बताए । उनका अनुसार सिरुवारी र खामभित्ताको पहिरोका कारण सडकमा सवारी सञ्चालन अत्यन्त जोखिमपूर्ण बनेको छ ।
“सामान्य वर्षा हुँदा पनि पहिरो खस्ने, सडक हिलाम्मे र साँघुरो हुने भएकाले यात्रु र सवारीचालकलाई जोखिम मोलेर यात्रा गर्नुपरेको छ,” थापाले बताए । उनका अनुसार, माथिबाट ढुंगा खस्ने खतरा रहँदा सवारी र यात्रु दुवैलाई क्षति पुग्ने सम्भावना बढी भएकाले सावधानीपूर्वक यातायात सञ्चालन भइरहेको छ ।
सडकमुनी कालीगण्डकी नदी बगिरहेको र करिब आठ सय मिटर उचाइमा दुई सय मिटर चौडाइको पहिरो फैलिएको स्थानीयले जनाएका छन् । यो पहिरो माझखर्क बस्तीका लागि पनि जोखिम बनेको छ । यसै सडकमार्ग हुँदै कोरला नाकासम्म सामान बोक्ने ठूला कन्टेनर चल्ने गर्छन्, जसले अब आवागमनमा थप समस्या निम्त्याएको छ ।
रघुगङ्गा गाउँपालिका–१ का वडा सदस्य बलमान गौचनका अनुसार, मुस्ताङ जाने यात्रुबाहक बस र गाडीहरू सिरुवारी क्षेत्रमा जाममा पर्ने गरेका छन् । सडक साँघुरो भएकाले दुईतर्फी आवागमन गर्न नसकिने अवस्था रहेको उनले बताए ।
यो वर्षको बर्खायाममा बेनी–जोमसोम सडकखण्ड सबैभन्दा बढी सिरुवारी र खामभित्तामा अवरुद्ध भएको हो । बेनी–जोमसोम–कोरला सडक योजनाले पहिरो प्रभावित क्षेत्रमा डोजर र लोडर तयारी अवस्थामा राखेको छ ।
“वर्षा रोकिएपछि पहिरो पन्छाएर सडक सरसफाइ गरिनेछ र दुईतर्फी सवारी सञ्चालन सहज बनाइनेछ,” योजनाका इञ्जिनियर विष्णु चापागाईंले जानकारी दिए । उनका अनुसार सिरुवारीको ठूलो पहिरो दीर्घकालीन रूपमा नियन्त्रण गर्न अध्ययन भइरहेको छ ।
चमेरे, बैसरी, गुइठेभिर, लाटाखोला र रुप्से क्षेत्रका पहिरो प्रभावित स्थानमा ढलान तथा स्थायी रोकथामका लागि ठेक्का सम्झौताको तयारी भइरहेको इञ्जिनियर चापागाईंले थप जानकारी दिए ।





