एनवाइसी क्वीन्स कराते च्याम्पियनसिपको दोस्रो संस्करण नोभेम्बर २३ मा हुने



न्युयोर्क ।
एनवाइसी क्वीन्स कराते च्याम्पियनसिपको दोस्रो संस्करण आगामी नोभेम्बर २३ तारिख आइतबारका दिन आयोजना हुने भएको छ । आइएमए निहोन कराते डो युएसएले गत वर्षदेखि सुरु गरेको यो प्रतियोगिता यस वर्ष पनि भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेको छ ।

आइएमए निहोन कराते डो युएसएका संस्थापक, प्रमुख प्रशिक्षक तथा च्याम्पियनसिप निर्देशक सिहान शान्त थोकरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अमेरिकाको न्युयोर्क राज्यको क्वीन्समा अन्तर्राष्ट्रिय कराते खेलाडीहरूलाई एक ठाउँमा ल्याउने यो हाम्रो दोस्रो प्रयास हो । यस प्रिमियर मार्शल आर्ट कार्यक्रममा अमेरिका तथा विदेशका विभिन्न उमेर र स्तरका खेलाडीहरूले सहभागिता जनाउनेछन् ।”

प्रतियोगिता क्वीन्सको कोरोना क्षेत्रमा अवस्थित एल्मकोर सेन्टरमा हुनेछ । प्रतियोगिताको अघिल्लो दिन अर्थात् नोभेम्बर २२ शनिबार रेफ्री सेमिनारको आयोजना गरिनेछ । सेमिनारमा विश्व कराते महासंघ (WKF) का रेफ्री सेड्रिक बाक्र्सडेलले प्रशिक्षण दिने जनाइएको छ ।

थोकरका अनुसार, “सेमिनारले रेफ्रीहरूको दक्षता अभिवृद्धि गर्नेछ र प्रतियोगितामा निष्पक्षता तथा व्यावसायिकता सुनिश्चित गर्नेछ । च्याम्पियनसिपमा उच्च स्तरको कराते प्रदर्शन हेर्न पाउने उत्साह छ ।”

यस संस्करणमा कुल ६६ क्याटगोरीमा प्रतिस्पर्धा हुने छ । १०–११ वर्षदेखि १८ वर्षमाथि पुरुष तथा महिला दुबै वर्गमा एड्भान्स काता र कुमिते डिभिजनका लागि २,००० अमेरिकी डलर नगद पुरस्कार राखिएको छ । यस्तै ५ वर्षदेखि ४५ वर्षमाथिका खेलाडीहरूका लागि पनि काता र कुमितेमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा ५२८ वटा पदक वितरण गरिने छन् — जसमा १३२ स्वर्ण, १३२ रजत र २६४ कास्य पदक समावेश छन् ।

थोकरले भने, “न्युयोर्क शहरमा अनुशासन, सम्मान र अन्तर्राष्ट्रिय मित्रताको भावनासहित यस्तो प्रतिष्ठित कार्यक्रम आयोजना गर्न पाउनु हाम्रो गर्वको विषय हो । यो च्याम्पियनसिपले ओलम्पिक करातेको भावनालाई प्रतिबिम्बित गर्नेछ र मार्शल आर्ट समुदायको एकताको सन्देश दिनेछ ।”

प्रतियोगिता निर्देशक थोकरले दर्शक, खेलाडी, परिवार र समर्थकहरूलाई कार्यक्रम अवलोकन गर्न आमन्त्रण गरेका छन् । साथै, उनले सामुदायिक संस्था, व्यवसायी, मिडिया र समर्थकहरूलाई पनि प्रायोजन र सहयोगका लागि आह्वान गरेका छन् ।

विज्ञप्तिमा उल्लेख छ, “आइएमए निहोन कराते डो युएसए कराते खेलको प्रवर्द्धनमा समर्पित अग्रणी संस्था हो । युवाहरूलाई सशक्त बनाउने र सामुदायिक सम्बन्ध सुदृढ पार्ने लक्ष्यसहित यस संस्थाले अमेरिकाभर विभिन्न प्रतियोगिता, सेमिनार र तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ ।”

प्रतिक्रिया दिनुहोस्