
काठमाडौं ।
विभिन्न तीन उमेर समूहका छ नेपाली टेबलटेनिस खेलाडी दक्षिण कोरियामा हुने आइटीटीएफ युथ टेबलटेनिस प्रशिक्षण शिविरका लागि छनोट भएका छन् ।
नेपाल एपीएम क्लबको आयोजनामा भैसेपाटीमा सम्पन्न पाँचौं एपीएम जुनियर टेबलटेनिस च्याम्पियनसिपमा आ–आफ्नो उमेर समूहमा विजेता बनेका खेलाडीलाई मे १६ देखि २६ तारिखसम्म हुने उक्त शिविरका लागि छनोट गरिएको हो ।
यु–१३ सिंगल्स ब्वाइजतर्फ यल टेबलटेनिस क्लबका रिभान वज्राचार्य र गल्र्सतर्फ स्ट्याग च्याम्पियन्स एकेडेमीकी प्राज्ना महर्जन चयन भएका छन् ।
त्यसैगरी, यु–१६ ब्वाइजमा यलका रिजा शाक्य र गल्र्समा स्ट्यागकी सुरम्या शाक्य, तथा यु–१९ ब्वाइजमा होप्स एकेडेमीका हिमाल विष्ट र गल्र्समा होप्सकै योङगी पौडेल छनोट भएका हुन् ।
१५० खेलाडीको सहभागितामा सम्पन्न सो प्रतियोगिताका विजेताहरूलाई सन् १९८८ को सिओल ओलम्पिककी स्वर्णपदक विजेता याङ योङ याले शिविरमा प्रशिक्षण दिनेछिन् ।





