
काठमाडौं, असोज २१ गते ।
काठमाडौं महानगरपालिका–७ द्वारा आयोजना हुने पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको नयाँ मिति घोषणा गरिएको छ । स्थगित प्रतियोगिता अब असोज २५ देखि २९ गतेसम्म सञ्चालन हुने भएको हो ।
पहिलो मिति भदौ २८ देखि असोज २ गतेसम्म तय गरिएको थियो, तर भदौ २३ र २४ गतेको आन्दोलनका कारण प्रतियोगिता स्थगित गरिएको थियो ।
वडा अध्यक्ष विमलकुमार होडाका अनुसार प्रतियोगितामा १६ भन्दा बढी टिमको सहभागिता रहने छ । ४० वर्षमाथिका खेलाडीले भाग लिन पाउने प्रतियोगिता सिक्स ए साइड स्वरूपमा सञ्चालन हुनेछ ।
चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिताका खेलहरू चन्द्रविनायक पार्क, चावहिल मैदानमा हुनेछन् । प्रतियोगिता नकआउट पद्धतिमा खेलाइने छ ।
विजेता टिमले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । साथै, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट खेलाडी, गोलरक्षक र डिफेन्डरलाई जनही ५ हजार रुपैयाँ नगदसहित सम्मान गरिने छ ।





