
काठमाडौँ, असोज १४ ।
विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी खेलाडी सुनमाया बुढा मंगलबार बिहान स्वदेश फर्किएकी छिन्।
स्पेनमा सम्पन्न सो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै बुढाले महिला लङ ट्रेल रन (८० किलोमिटर) १० घण्टा २३ मिनेट ०३ सेकेन्डमा पूरा गरी दोस्रो स्थान हासिल गरेकी थिइन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाल एडभेन्चर रनिङ फेडेरेसनका पदाधिकारीहरूले स्वागत गरेका थिए। स्वागत गर्नेमा महासंघका सचिव शहदेव ब्यञ्जनकार, कोषाध्यक्ष रीकी योञ्जन, सदस्य राजमान महर्जनलगायत उपस्थित थिए।
उक्त प्रतियोगिता विश्व माउन्टेन रनिङ एसोसियसन, विश्व एथलेटिक्स र इन्टरनेशनल एसोसियसन अफ अल्ट्रारनर्सको संयुक्त आयोजनामा भएको हो। नेपालबाट बुढासहित सुमन कुलुङ, साङ्गे शेर्पा र मनकुमार रोकाले प्रतिस्पर्धा गरेका थिए। टोलीको व्यवस्थापन प्रीति खत्रीले गरेकी थिइन्।





