
जलेश्वर (महोत्तरी) । महोत्तरीको सोनामाई शक्तिपीठमा सुरु भएको परम्परागत भूत मेलाले मिथिला क्षेत्रमा विशेष रौनक थपेको छ । बडादसैँको षष्ठी तिथिदेखि प्रारम्भ भएको यो मेला हेर्न र सहभागी हुन महोत्तरी मात्र नभई सम्पूर्ण मिथिला क्षेत्रका भक्तजन उत्साहित देखिन्छन् ।
अनादिकालदेखि प्रचलित यो भूत मेला औरही नगरपालिका–७ स्थित सोनामाई शक्तिपीठमा हरेक वर्ष आयोजना हुँदै आएको छ । हजारौँ दर्शनार्थी यहाँ पुगेर मेलाको दर्शन गर्ने र पूजाअर्चना गर्ने गर्दछन् । सोनामाईका पुजारी कामेश्वर झाका अनुसार मेलामा आउनेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ ।
जनविश्वासअनुसार भूत–प्रेत, बोक्साबोक्सी र दुष्ट आत्माको सताइमा परेकाहरू सोनामाईको कृपाले मुक्त हुने मान्यता छ । पुजारी रमेश झाका भनाइमा, प्रत्येक वर्ष हजारौँ पीडितहरू यहाँ आएर देवीको दर्शन गरेपछि निको भएर फर्कने गर्दछन् ।
मेलामा आउने कतिपय पीडितहरू सीमा क्षेत्रमा पाइला टेक्नेबित्तिकै को–कसरी सताइएका हुन् भन्ने कुरा आफैं भन्न थाल्छन् । देवीको शक्ति अनुभव गर्ने क्रममा कोही रुँदै, कोही हाँस्दै वा लड्दै–उठ्दै देवी दरबारसम्म पुग्छन् । त्यहाँ माताको दृष्टि पर्नासाथ निको भई आफ्ना घर फर्कने परम्परा रहेको पुजारी झगरु झाले बताए ।
षष्ठीदेखि विजयादशमीसम्म चल्ने यस मेलामा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, रौतहट, हेटौँडा, धरान, विराटनगर, काठमाडौं लगायतका स्थानका साथै भारतको सीतामढी, मधुवनी र पटना सहरसम्मका भक्तजन र पीडितहरू आउने गरेका छन् ।





