दसैँमा अभिभावकविहीन बालबालिकालाई नयाँ लुगा वितरण |



देवदह (रुपन्देही) । लायन्स क्लब अफ सिद्धार्थनगर युथले आफ्नो नवौँ स्थापना दिवस र बडादसैँलाई विशेष बनाउन अभिभावकविहीन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ ।

क्लबले सोमबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रमका २२ जना बालबालिकालाई नयाँ कपडा वितरण गरेको हो । कार्यक्रमका क्रममा क्लबका अध्यक्ष युवराज श्रेष्ठले बालबालिकालाई टीका तथा दक्षिणा प्रदान गर्दै बिहानको एक छाक खाना समेत खुवाएका थिए ।

क्लबका तृतीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक सचिन्द्र तुलाधरले यस पटकको स्थापना दिवसलाई फरक ढंगले मनाउने उद्देश्यसहित आश्रममै कार्यक्रम गरिएको बताए । उनले भने, “दसैँमा नयाँ कपडा नलगाएसम्म बालबालिकाले चाड आएको महसुस गर्न सक्दैनन्, त्यसैले अभिभावकविहीन बालबालिकामा खुसी ल्याउन लत्ताकपडा वितरण गरिएको हो ।”

कार्यक्रममा लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले अरूको जीवनमा पनि खुसी बाँड्न सकियोस् भन्ने उद्देश्यले गरिएको यस्तो सामाजिक कार्य सराहनीय भएको बताए । निवर्तमान डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले क्लबले निरन्तर सामाजिक उत्तरदायित्व वहन गर्दै आएको उल्लेख गरे ।

सेकेन्ड भाइस डिष्ट्रिक गभर्नर मीना पन्थीले सदस्यहरूले आफ्नै खर्च कटाएर सेवामा समर्पित हुनु प्रशंसनीय भएको बताइन् । संस्थापक अध्यक्ष अर्चित श्रेष्ठले कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताए भने सचिव विराट गुरुङले संस्थापक सदस्यलाई सम्मान गरिएको जानकारी दिए ।

नेपाल अविनाश अनाथ आश्रमका अध्यक्ष कृष्णप्रसाद ज्ञवालीका अनुसार आश्रममा हाल २२ जना बालबालिका आश्रित छन् ।

प्रतिक्रिया दिनुहोस्