फरार कैदीबन्दीलाई असोज २० गतेसम्म आत्मसमर्पण गर्ने समय |



जलेश्वर (महोत्तरी) । जेनजी आन्दोलनको अवसर पारेर गत भदौ २४ गते महोत्तरीको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीलाई यही असोज २० गतेसम्म स्वेच्छाले फर्किन समय तोकिएको छ ।

कारागार कार्यालय जलेश्वरले सार्वजनिक सूचना जारी गर्दै फरार भएका सबै कैदीबन्दीलाई तोकिएको म्यादभित्र कारागारमा फर्किन आग्रह गरेको जेलर अशोक क्षेत्रीले जानकारी दिए ।

सूचनामा भनिएको छ– तोकिएको समयसीमाभित्र नआएका कैदीबन्दीलाई कारागार ऐन २०७९ तथा नेपालका प्रचलित कानुनअनुसार कारबाही गरिनेछ । त्यस्तै, भागेकालाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।

भदौ २४ गते भएको घटनामा ४० भारतीयसहित ५७६ कैदीबन्दी फरार भएका थिए । तीमध्ये आज बिहानसम्म २६२ जना फिर्ता भइसकेको क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्