चिकित्सकको सुझाव : दसैँमा मासु खानुस्, तर स्वास्थ्यलाई ध्यान दिएर



चितवन । दसैँलाई नेपालीहरूले मिठो खाने र रमाइलो लाउने चाडका रूपमा मनाउँछन् । विशेषगरी महाअष्टमीका दिन घरघरमा पशुबलि दिएर मासु खाने चलन व्यापक छ । यो अवधिमा सामान्यतया भन्दा बढी मासु उपभोग गरिने भएकाले चिकित्सकहरूले स्वास्थ्यलाई ध्यानमा राखेर मात्र मासु खाने सुझाव दिएका छन् ।

चिकित्सकहरूको भनाइमा, मासु आफैंमा हानिकारक होइन तर पकाउने तरिका अस्वस्थ भए स्वास्थ्य समस्या बढ्न सक्छ ।

पुष्पाञ्जली अस्पतालका फिजिसियन डा. भोजराज अधिकारीका अनुसार दसैँमा खानपानमा लापरबाही हुँदा उच्च रक्तचाप, मधुमेह, पेटसम्बन्धी समस्या, कब्जियत, झाडाबान्ता, युरिक एसिड बढ्ने र ग्यास्ट्रिक रोगी बढ्ने गर्छन् । धेरै मासु पकाएर दिनौँदिनसम्म खाने प्रचलनलाई उनले खतरनाक बताए । बोसोरहित ताजा मासु सानो परिमाणमा खान सकिने भए पनि पोल्ने, तार्ने र धेरै तेलमा भुट्ने विधि प्रयोग नगर्न उनको सुझाव छ ।

त्यस्तै, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका विशेषज्ञ डा. गुरुशरण साह र डा. विनय ठाकुरले रातो मासु पोल्दा वा तार्दा आन्द्राको क्यान्सरसहित विभिन्न क्यान्सरको जोखिम बढ्ने चेतावनी दिएका छन् । उनीहरूले सागसब्जी, गेडागुडी, माछा वा कुखुराको मासुलाई प्राथमिकता दिन सुझाएका छन् ।

चितवन मेडिकल कलेजका डीएम इण्डोक्राइनोलोजिस्ट डा. सौरभ खतिवडाले बोसोयुक्त मासुले मोटोपन, उच्च चिनीको मात्रा, एलडिएल कोलेस्ट्रोल र ट्राइग्लिसिराइड बढाउने बताए । उनका अनुसार राति बोसोयुक्त खाना खाँदा बिहानसम्म शरीरमा असर रहन्छ । त्यसैले बोसोरहित मासु कम मात्रामा खानु उचित हुन्छ ।

मुटुरोग विशेषज्ञ प्रा. डा. श्यामराज रेग्मीले मुटुरोगीलाई चिल्लो, बोसो र छालाविहीन मासु थोरै मात्र खान मिल्ने बताए । उनका अनुसार मधुमेह नियन्त्रणमा भए सामान्य परिमाणमा मिठाई खान सकिन्छ तर अति गर्नु हुँदैन ।

चिकित्सकहरूको साझा सन्देश भनेको — दसैँमा मासु खान सकिन्छ, तर ताजा, बोसोरहित, स्वास्थ्यमैत्री तरिकाले पकाएको मात्र । नुन, चिल्लो, गुलियो, मदिरा र चुरोटको संयोजनले अझ गम्भीर समस्या निम्त्याउने भएकाले सावधानी अपनाउनुपर्ने उनीहरूको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्