पिङमा रमाउने रमाइलो बेग्लै



म्याग्दी । वर्षा घट्दै गएपछि शरद ऋतुको नीलो आकाश, हरियाली पहाड र सेताम्मे हिमशृङखलाले गाउँघरको सौन्दर्य झनै बढाएको छ । रातो माटो र कमेरोले रंगिएका घर, खेतबारीमा लहलह झुलिरहेका धान–कोदो र गाउँमा गुठेर बनाइएका लिङ्गे तथा रोटे पिङले दशैँको रौनक थपिएको छ ।

शरदसँगै आएको चाडपर्वले म्याग्दीका गाउँघरमा उल्लास छाएको छ । रोजगारी, पढाइ र व्यवसायका लागि सहर र विदेश गएका आफन्त दशैँ मनाउन फर्किएपछि गाउँमा चहलपहल बढेको मालिका गाउँपालिका–३ का गोविन्द पटेल बताउँछन् । “वर्षौँपछि आफन्त, साथी र इष्टमित्र भेटिँदा गाउँमा उत्साह छाएको छ,” उनी भन्छन् ।

म्याग्दीका ६ स्थानीय तहका ४५ वडा मिलाएर एक लाख सात हजार जनसंख्या भए पनि पछिल्ला वर्षमा गाउँबाट बाहिरिने क्रम बढेको छ । २०६८ पछिको दशकमा जनसंख्या करिब सात हजारले घटेको तथ्याङ्क छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा र रोजगारीका अवसर खोज्दै सहर पस्ने र विदेशिनेको संख्या बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा मात्रै २४७ परिवार थातथलो छोडेर गएका छन् भने ८९ परिवार बसाइँसराई गरेर म्याग्दी आएका छन् ।

तर, दशैँजस्ता चाडपर्वमा गाउँमा युवाको सहभागिता बढ्छ । धवलागिरी गाउँपालिका–७ ताकमका सुनेश केसी पाँच वर्षपछि कोरियाबाट फर्किएका छन् । उनी भन्छन्, “विदेशमा चाडपर्वले गाउँघरको सम्झना दिलाउँथ्यो । साथीभाइ र छिमेकीसँगको आत्मीयता विदेशमा पाइँदैन ।”

बेनी नगरपालिका–५ का दिनेश बानिया भन्छन्, “सहर वा विदेशको चाडपर्व परिवारमै सीमित हुन्छ । गाउँघरको चाडपर्व भने मौलिकता र संस्कृतिसँग जोडिएको हुन्छ । भेटघाटले विगत सम्झाउने मात्र होइन, नयाँ योजना बनाउन पनि सहयोग गर्छ ।”

रघुगङ्गा–४ दग्नाममा दशैँ मनाउन आएकी सोनालिका गर्बुजा भन्छिन्, “नवदुर्गाको पूजा, कोतघरमा लाग्ने मेला र गाउँमा हालिएका पिङले दशैँलाई विशेष बनाउँछ ।” पोखराबाट हिलापोखरी फर्केका खुम पुन थप्छन्, “बाँसको लिङ्गो गाडेर, बाबियोको डोरी बुनेर हालिएको पिङमा उड्दा बाल्यकालको झल्को आउँछ, मज्जा नै बेग्लै हुन्छ ।”

दसैँको तयारीसँगै गाउँका बाटाघाटा र सार्वजनिक स्थल श्रमदानमार्फत सफा गरिएका छन् । महानवमीका दिन परम्परागत रूपमा गाउँ–गाउँका कोतघरमा मेला लाग्ने चलन अझै निरन्तर छ । बाइसे–चौबीसे कालदेखि प्रचलित बेनी, ताकम, घतान, ज्यामरुक, भगवतीलगायतका कोतघरमा लाग्ने मेला अहिले पनि उतिकै आकर्षणको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्