
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले लुकाइराखिएको ४० बोरा अनुदानको मल (डीएपी) बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा प्रशासन र सुरक्षाकर्मीले सोमबार गोलबजार नगरपालिका–६ मा व्यवसायी जितन सहनीको घरमा छापा मारेका थिए । सो क्रममा लुकाइएको अवस्थामा डीएपी र युरिया मल बरामद गरिएको जिल्ला प्रशासन कार्यालयका अधिकृत सन्तोष रायले जानकारी दिए ।
बरामद मल इलाका प्रहरी कार्यालयको निगरानीमा गोदाममै सिल गरिएको छ । तर घरधनी हालसम्म फरार भएकाले थप विवरण खुल्न बाँकी रहेको प्रशासनले जनाएको छ ।
यसअघि पनि असोज ८ गते सोही स्थानबाट १५४ बोरा अनुदानको मल बरामद गरिएको थियो ।





