
काठमाडौँ, असोज १३ गते ।
नेपाली पौडीबाज अथर्व सिंहले भारतको अहमदाबादमा जारी ११ औँ एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा सोमबार दुई नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

पुरुष १ हजार ५ सय मिटर फ्रिस्टाइलमा उनले १७ मिनेट ४३.५७ सेकेन्डमा दूरी पूरा गर्दै शिरिष गुरुङले १० वर्षअघि बनाएको १८ मिनेट ४५.६२ सेकेन्डको कीर्तिमान तोडे । सोही स्पर्धामा नेपालका अर्का पौडीबाज कल्किन श्रेष्ठले पनि १८ मिनेट ११.११ सेकेन्डमा दूरी पूरा गर्दै शिरिषको पुरानो समयलाई उछिनेका छन् । यो जानकारी पौडीका मुख्य प्रशिक्षक शंकर कार्कीले दिएका हुन् ।
त्यस्तै, अथर्वले ४ सय मिटर व्यक्तिगत मिड्लेमा पनि नयाँ कीर्तिमान बनाए । उनले सन् २०१६ मा शिरिषले नै कायम गरेको ५ मिनेट ०४.७० सेकेन्डको कीर्तिमान तोड्दै ४ मिनेट ५८.३४ सेकेन्डमा दूरी पूरा गरेका हुन् ।





