जेनजी प्रदर्शनका घाइते वर्गीकरणका लागि प्राविधिक समिति गठन हुने |



काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण गर्न प्राविधिक समिति गठन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समितिले तत्काल वर्गीकरण प्रक्रिया अघि बढाउने जानकारी दिए ।

बैठकले वर्गीकरणको आधारमा घाइतेलाई उचित राहतको व्यवस्था गर्ने निर्णयसमेत गरेको छ । साथै, भदौ २३ र २४ गतेको प्रदर्शनमा घाइते भएकाको पहिचान तथा उपचार सहज बनाउन गृह मन्त्रालयमार्फत परिचयपत्र उपलब्ध गराउने, स्वास्थ्य मन्त्रालयले पुनःउपचारका लागि तोकिएका अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने र निःशुल्क आवतजावतको व्यवस्था गर्ने निर्णय भएको छ । उपचारमा सहजीकरण गर्न हटलाइन तथा सम्पर्क व्यक्ति तोक्ने व्यवस्था पनि हुने बताइएको छ ।

यस्तै, मन्त्रिपरिषद्ले मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत मुग्लिन बजार पारी गोरखातर्फदेखि मस्र्याङ्दी विद्युत् गृहको विपरीत दिशासम्म समानान्तर थप सडकको रेखाङ्कन स्वीकृत गरेको छ । नयाँ सडक ३० मिटर चौडाइको हुने गरी मापदण्ड तोकिएको छ ।

बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई कात्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को आठौँ बैठकमा सहभागी हुन स्वीकृति दिएको छ ।

त्यसैगरी प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिनालाई नियुक्त गर्ने निर्णयसमेत गरिएको मन्त्री खरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्