धरान कृषि बजारमा दुई अर्ब ४० करोड बराबरको खसीबोका कारोबार



सुनसरी । चाडपर्वको सुरुवातसँगै धरान उपमहानगरपालिका–१३ मा रहेको कृषि उपज बजार खसीबोकाको किनबेचले चहलपहल बढेको छ । हरेक बिहीबार र शुक्रबार सञ्चालन हुने यस बजारमा पहाडदेखि तराईसम्मका किसान र व्यापारीले खसीबोका बिक्रीका लागि ल्याउने गरेका छन् ।

सङ्खुवासभाका श्यामबहादुर बस्नेत १८ वर्षदेखि पशुपालन व्यवसायमा संलग्न छन् । यसपटक उनले १५ वटा खसीबोका बजारमा ल्याए तर अहिलेसम्म एउटा मात्रै बिक्री भएको उनले बताए । धनकुटाकी ममता राई भने नियमित रूपमा खसीबोका बिक्री गर्दै वार्षिक नौ लाखभन्दा बढी आम्दानी गर्ने गर्छिन् ।

सुनसरी दुहबीका व्यापारी नैसात मियाँ हरेक हप्ता यहाँबाट १०० देखि १५० वटासम्म खसीबोका खरिद गरी झुम्का, इटहरी, विराटनगर, लहान, जनकपुरलगायत सहरमा पठाउने गर्छन् । ३१ वर्षदेखि यो व्यवसायमा संलग्न मियाँ मासिक ८० हजारदेखि एक लाख रुपैयाँसम्म नाफा कमाउने बताउँछन् ।

धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार बजारमा दैनिक करिब ४ हजार ५०० वटा खसीबोका बिक्री हुन्छन् । गत आर्थिक वर्ष २०८१/८२ मा मात्र एक लाख २० हजारभन्दा बढी खसीबोका बिक्री भई करिब दुई अर्ब ४० करोडको कारोबार भएको छ । यस वर्ष भने लगातार वर्षा र भदौमा भएको जेनजेड आन्दोलनका कारण ढुवानी अवरुद्ध हुँदा कारोबारमा केही कमी आएको उनको भनाइ छ ।

धरानको यो कृषि बजारमा धनकुटा, सङ्खुवासभा, पाँचथर, भोजपुर, तेह्रथुमजस्ता पहाडी जिल्ला र इटहरी, कानेपोखरी, इनरुवा, झुम्का, बेलबारीलगायत तराई क्षेत्रका किसान तथा व्यापारी खसीबोका ल्याउने गर्छन् । यहाँबाट बिक्री भएका खसीबोका प्रमुख सहर हुँदै भारतसम्म निर्यात हुने गरेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्