जुम्लाको गुठिचौरमा फूलपातीको दिन घोडा दौड प्रतियोगिता



जुम्ला । जुम्ली घोडाको संरक्षण र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित जुम्ला जिल्लाको गुठिचौर गाउँपालिका–२ मा घोडा दौड प्रतियोगिता हुने भएको छ । गुठिचौर–२ को आर्थिक सहयोगमा कर्णाली खेलकुद क्लब र गुठिचौर युवा क्लबको संयुक्त आयोजनामा असोज १३ गते फूलपातीका दिन तेस्रो पटक प्रतियोगिता हुन लागेको हो ।

गाउँपालिका–२ का वडाध्यक्ष दिपबहादुर ऐडीका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई रु १५ हजार, दोस्रो हुनेलाई रु १० हजार र तेस्रो हुनेलाई रु ५ हजार पुरस्कार प्रदान गरिनेछ । हाल प्रतियोगिताका लागि दर्ता खुला गरिएको छ ।

“घोडा दौड प्रतियोगिता जुम्लाको पुरानो संस्कृति हो । प्रत्येक वर्ष दसैँको फूलपातीका दिन यसैगरी प्रतियोगिता हुँदै आएको छ,” वडाध्यक्ष ऐडीले बताए । उनका अनुसार प्रतियोगिताले घोडाको संरक्षण मात्र नभई पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

यसअघि घोडा दौड जुम्ला विमानस्थलमा हुने गरेकोमा विमानस्थल कालोपत्र भएपछि प्रतियोगिता गुठिचौरमा सारिएको गुठिचौर युवा क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्