दसैँलाई लक्षित गरी आँबुखैरेनीमा घरटोलमै सामाजिक सुरक्षा भत्ता वितरण



तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले यस वर्षको दसैँलाई लक्षित गर्दै ज्येष्ठ नागरिकलगायत लाभग्राहीलाई घरटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त तिमिल्सिनाका अनुसार पालिकाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक भत्ता प्रत्येक वडाका टोलटोलमै पुगेर वितरण गरेको हो । उनका भनाइमा, “बैंकका कर्मचारी खटिएकाले लाभग्राहीलाई बैंकसम्म आउनुपर्ने बाध्यता हटेको छ ।”

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बजारसम्म झरेर बैंकमा लाइन बस्नुपर्ने असुविधा हटाउन घरटोलमै भत्ता वितरणलाई निरन्तरता दिइएको बताए ।

यसक्रममा अन्तिम दिन शुक्रबार वडा नं २ को अदुवाखर्क, घोक्रिङखर्क, सहकारी टोल र वडा नं ३ का आँबुगाउँ, कोटगाउँ, धारापानीसहितका स्थानमा भत्ता वितरण गरिएको छ । यस्तै वडा नं १ स्थित देवीडाँडा आमा समूहको भवन, समस्तीपुर तथा वडा नं ४, ५ र ६ का विभिन्न टोलटोलमा पनि वितरण सम्पन्न गरिएको छ ।

गाउँपालिकाले विभिन्न बैंकमार्फत ६८ वर्षमाथिका ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, एकल महिला, विधवा, पूर्ण र अशक्त अपाङ्ग, साथै पाँच वर्षमुनिका बालबालिकालाई लक्षित गरी घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्