बेमौसमी फूलखेतीबाट लोकेन्द्र रोकामगरको वार्षिक १५ लाख बचत |



दाङ । घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका किसान लोकेन्द्र रोकामगर बेमौसमी फूलखेतीमार्फत राम्रो आम्दानी गर्दै आएका छन् । उनका बारीमा वर्षभरि सयपत्री फूल फुल्छन्, जसबाट उनले प्रतिवर्ष करिब ३५ लाख रुपैयाँको फूल तथा माला बिक्री गर्ने गरेका छन् । यसबाट १० देखि १५ लाख रुपैयाँसम्म बचत हुने गरेको उनको भनाइ छ ।

वैदेशिक रोजगारीका लागि सात वर्ष कतारमा बिताएर फर्किएका रोकामगरले विगत १३ वर्षदेखि व्यावसायिक फूलखेती सुरु गरेका हुन् । अहिले उनले तीन बिघा जग्गा भाडामा लिएर जलजला पुष्प फार्ममार्फत फूल उत्पादन गर्दै आएका छन् । फूलखेतीले उनलाई मात्र नभई स्थानीय केही नागरिकलाई पनि रोजगारी दिएको छ ।

रोकामगरले सयपत्रीका फूल प्रतिकेजी ४०० रुपैयाँ र माला प्रति थान १०० रुपैयाँमा बिक्री गर्छन् । बिहेका लागि विशेष माला पनि तयार पार्छन्, जसको मूल्य एक हजार रुपैयाँसम्म पर्छ । फूलखेतीसँगै बिजुलीको फूल र विभिन्न प्रजातिका बिरुवाहरू पनि उत्पादन गरी बिक्री गर्दै आएका छन् । उनका उत्पादनहरू दाङसँगै चितवन र बुटवलसम्म आपूर्ति हुने गरेका छन् ।

चाडपर्व, विवाह, सभा–सम्मेलन लगायतका अवसरमा फूलको माग बढ्ने उनले बताए । अहिले स्थानीय स्तरमा उत्पादन हुने फूलप्रति नागरिकको आकर्षण बढ्दै गएको र प्लास्टिकको माला प्रतिबन्ध भएमा किसानलाई थप राहत हुने उनको धारणा छ ।

फूलखेतीलाई जीवनको मुख्य व्यवसाय बनाएका ४० वर्षीय रोकामगरले विदेशमा भन्दा आफ्नै गाउँमा गरिएको खेतीले नै राम्रो भविष्य दिने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्