मधेसमा आज ‘बेलनौत’ परम्परा सम्पन्न हुँदै



महोत्तरी । मधेसमा आज दशहारा पर्वको विशेष परम्परा ‘बेलनौत’ गरिँदैछ । शारदीय नवरात्रको षष्ठी तिथिमा हुने यो मैथिल परम्परा देवी दुर्गाको प्रतिमामा आँखा उघार्ने धार्मिक विधिसँग जोडिएको छ ।

यस वर्ष चतुर्थी तिथि दुई दिन परेकाले नवरात्र १० दिनको भएको छ । त्यसअनुसार परम्पराअनुसार षष्ठीमा हुने ‘बेलनौत’ यसपालि सातौँ दिनमा परेको हो ।

मिथिलामा दशहारा पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी दुर्गाका प्रतिमाका आँखा सप्तमीमा खोलिन्छ । त्यसको एक दिनअघि षष्ठीका दिन प्रतिमास्थलबाट बाजागाजासहित बस्ती नजिकको बेलको रुखमा चढेर एउटा बेल फललाई रातो रुमालले बाँध्ने परम्परा रहँदै आएको छ । यसलाई ‘बेलनौत’ भनिन्छ, जसको अर्थ देवीलाई निमन्त्रणा गर्नु हो ।

वैदिक मन्त्रोच्चारणसहित बाँधिएको बेल फललाई सप्तमीको बिहान टिपेर ल्याइन्छ र पुरोहितले सो फलको भेट्नो प्रयोग गरी देवी प्रतिमाको आँखा कोट्याएर उघार्छन् । यसपछि मात्रै प्रतिमा पूर्ण सजीव मानिन्छ र सर्वसाधारणका लागि दर्शन खुला गरिन्छ । सप्तमीको बिहान बेल टिप्ने विधिलाई ‘बेलतोडी’ भनिन्छ ।

बर्दिबास–२ का धार्मिकविद् महेशकुमार झाका अनुसार बेल फल पवित्र मानिने भएकाले आँखा उघार्ने विधिमा यसको प्रयोग गर्ने परम्परा आजसम्म चलिआएको हो ।

दशहारा पर्वमा मिथिला क्षेत्रका अधिकांश बस्तीमा देवी प्रतिमा बनाइन्छ । आज ‘बेलनौत’ सम्पन्न गर्ने तयारीसँगै यहाँको चहलपहल अझै बढेको छ । काठ वा धातुका प्रतिमा भएका पुराना मन्दिरमा आँखा उघार्ने चलन नरहे पनि निम्ता गरिएको बेल फल प्रतिमानजिक राख्ने प्रथा भने कायम छ ।

विजयादशमीका दिन भने पर्वमा बनाइएका देवी प्रतिमाहरूलाई धार्मिक महत्वका नदी वा तलाउमा विसर्जन गर्ने परम्परा मिथिलामा ‘मूर्ति भसाउने’ भनेर चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस्