
काभ्रेपलाञ्चोक । गत भदौ तेस्रो सातामा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड र आगजनीका कारण बनेपा नगरपालिकामा करिब रु १० करोड बराबरको क्षति भएको प्राविधिक मूल्याङ्कनले देखाएको छ ।
नगरपालिकाको तीनतले मुख्य प्रशासनिक भवन, योजना शाखा तथा प्राविधिक शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । विसं २०४३ मा बनेको मुख्य भवनमा रहेको सभाहल, प्रशासकीय अधिकृतको कार्यकक्ष, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, प्रशासन, सहकारी, सामुदायिक विकास, राजस्व, दर्ता–चलानीसहितका कार्यालय कक्ष तथा अभिलेख जलेर नष्ट भएका छन् । प्राविधिक मूल्याङ्कनअनुसार भवनको मात्र क्षति रु ५ करोड ४२ लाखभन्दा बढी छ ।
नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सचिवालय, न्यायिक समिति, कानुन, शिक्षा तथा लेखा शाखाका कार्यकक्षसहित दोस्रो र तेस्रो तलामा रहेका सम्पूर्ण कोठा र अभिलेख जलेर नष्ट भएका छन् । योजना र प्राविधिक शाखा, सुरक्षा गार्ड कक्ष तथा स्तनपान कक्षसमेत क्षतिग्रस्त भएका छन् ।
यातायात साधन र उपकरणतर्फ मिनीट्रक, तीन ट्रयाक्टर, एक टिपर, दुई कार, एक जीप, एक मोटरसाइकल र पाँच साइकलसहित करिब रु १ करोड ५० लाख बराबरको क्षति भएको छ । त्यसैगरी कम्प्युटर ४४, ल्यापटप १६, ट्याबलेट १४, मोबाइल २१, प्रिन्टर ५३, डिजिटल र भिडियो क्यामेरा, टेलिभिजनलगायत ६१ प्रकारका उपकरणमा मात्र रु ८ करोड २२ लाखभन्दा बढीको क्षति भएको उल्लेख छ ।
यस्तै, १४९ प्रकारका जिन्सी सामान, विपद् व्यवस्थापन तथा सहरी सुधार परियोजनासम्बन्धी सामग्रीसमेत जलेर नष्ट भएका छन् । साथै, पितलको कोपडा, धलौटाका घण्टी, सूर्यनारायणको मूर्ति, ढुङ्गाको शिलापत्र, मुखुण्डो, सिनमुलजस्ता पुरातात्विक सामग्री चोरी भएको जनाएको छ ।
नगर प्रमुख शान्तिरत्न शाक्यका अनुसार तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिइएको छ । हाल अस्थायी रूपमा बनेपा–१० मा वडा कार्यालयमार्फत नगरपालिका सेवा सञ्चालन गरिएको छ ।
जेनजी आन्दोलनका क्रममा काभ्रेका १८ सरकारी तथा निजी संरचना क्षतिग्रस्त भएका छन् । विशेषगरी नगरपालिका भवन, प्रहरी कार्यालय र जनप्रतिनिधिको घरमा ठूलो क्षति पुगेको छ । उक्त आन्दोलनमा काभ्रेका चार जनाले काठमाडौंमा ज्यानसमेत गुमाएका थिए ।





