विश्व ट्रेल रनमा सुनमाया बुढाको उपविजय



असोज १२ ।
नेपाली धाविका सुनमाया बुढाले स्पेनको क्यान फ्रान्कमा सम्पन्न विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा ऐतिहासिक सफलता हात पार्दै उपविजेता बन्न सफल भएकी छिन् ।

८१ किलोमिटर दूरीको लङ ट्रेल उनले १० घण्टा २३ मिनेट ०३ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान प्राप्त गरिन् । उनी अमेरिकी धाविका केटी शिम्ट भन्दा २६ मिनेट पछि परिन् ।

तेस्रो संस्करणको प्रतियोगितामा ८० देशका १ हजार ७ सय खेलाडी सहभागी थिए, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो सहभागिता मानिएको छ । नेपाल एडभेन्चर रनिङ फेडेरेसनको टोलीबाट सुनमायासहित सुमन कुलुङ, साङ्गे शेर्पा र मनकुमार रोका सहभागी भएका थिए ।

८२ किलोमिटर लङ ट्रेलमा सुमन ३२ औँ र मनकुमार ३६ औँ स्थानमा रहे । संघका अध्यक्ष एकेन्द्र कुँवरले यो उपलब्धि नेपाली ट्रेल रनिङको विश्वस्तरीय सम्भावना उजागर गर्ने खालको भएको बताए ।

प्रतिक्रिया दिनुहोस्