
झापा । कचनकवल–५ पाठामारीस्थित मेची नदीमाथि निर्मित झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्यका रूपमा उदाउँदै गएको छ । संघीय सरकारको रु ४ करोड १२ लाख २९ हजार लागतमा बनेको पुल ४४२ दशमलव ४० मिटर लम्बाइको छ ।
कचनकवल–५ का वडाध्यक्ष नुर आलमका अनुसार भारतीय सीमा नजिक निर्माण गरिएको पुल सञ्चालनमा आएपछि दुवै देशका पर्यटक यहाँ आउन थालेका छन् । पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो देखिन थालेको उनको भनाइ छ । उनले भने, “अब दुवै मुलुकका नागरिकलाई मेची नदी पार गर्न सहज भएको छ । लामो झोलुङ्गे पुल नै यहाँको आकर्षण बनेको छ ।”
पुल निर्माणको सम्झौता विसं २०७३ मङ्सिर १७ गते नीलगिरि महावीर जेभीसँग भए पनि बजेट अभावका कारण ढिलाइ भएको हो । यसअघि बर्खायाममा स्थानीयले काठको डुङ्गा प्रयोग गरेर दुई घण्टा पालो कुरेर मात्र नदी पार गर्नुपर्ने अवस्था थियो ।
स्थानीय झट्टु हलुवाईंका अनुसार पुल निर्माणले कचनकवलबासीको वर्षौंदेखिको चाहना पूरा भएको छ । उनले भने, “सीमावर्ती बासिन्दालाई अनेक कामका लागि दुवै मुलुकमा आउजाउ गर्नुपर्ने हुन्छ । पुल निर्माणको चाहना अब साकार भएको छ ।”
पुलको दुवैतर्फ नेपाली भूभाग पर्ने भए पनि मेचीपारि ३० बिघाभन्दा बढी जग्गा नेपालकै हो । भारततर्फ पाठामारी बजार छ भने पुलको पूर्वी भागलाई धोबीभिट्टा भनिने गरिएको छ ।
गत भदौ ३१ गतेदेखि सञ्चालनमा ल्याइएको पुल हाल पैदल र साइकल यात्रीका लागि खुला गरिएको छ । वडाध्यक्ष आलमका अनुसार एक महिनापछि मोटरसाइकल आवतजावत गर्न मिल्ने गरी पहुँच मार्गको स्तरोन्नति गरिनेछ ।
उनले कचनकवल नेपालको होचो भूभाग भएकाले यहाँका पोखरी, गन्धर्व बस्ती र नयाँ झोलुङ्गे पुललाई प्रचार–प्रसार गरी पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् ।





