मनसुनी वायुको प्रभाव दसैँभर कायमै रहने



काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको दसैँमा पनि मनसुनी वायुको प्रभाव रहने जनाएको छ। विभागले शनिबार जारी गरेको दसैँ विशेष मौसम बुलेटिनमा हाल मनसुन कमजोर अवस्थामा रहे पनि नेपालबाट पूर्ण रूपमा बहिर्गमन नभएको प्रष्ट पारेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा सामान्यतया अक्टोबर २ तारिखतिर मनसुन समाप्त हुन्छ। तर प्रत्येक वर्ष सो मिति फरक–फरक हुने भएकाले यस वर्ष पनि दसैँभर मनसुनी वायुको प्रभाव रहने विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए।

उनका अनुसार असोज १४ गते (अष्टमी) बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा कोशी प्रदेशका पहाडी र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। असोज १५ (नवमी) मा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा यस्तै वर्षा हुने अनुमान छ। त्यस्तै, असोज १६ (दशमी) मा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका पहाडी क्षेत्र, कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थान, साथै मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा हुने सम्भावना विभागले जनाएको छ।

दसैँ अवधिभर मनसुनी प्रभाव रहने भएकाले अद्यावधिक मौसम सूचना हेरी आवश्यक सतर्कता अपनाउन विभागले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्