चितवन राइनोजको नयाँ जर्सी सार्वजनिक, संस्कृति र पहिचानको प्रतिविम्ब



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ का लागि चितवन राइनोजले शनिबार नयाँ जर्सी सार्वजनिक गरेको छ । अरेन्ज र कालो रंगको आकर्षक संयोजनमा तयार गरिएको जर्सी चितवनको संस्कृति, प्रकृति र पहिचानलाई अभिव्यक्त गर्ने ‘स्टेटमेन्ट’को रूपमा प्रस्तुत गरिएको छ ।

जर्सीमा अरेन्ज रंगलाई आधार बनाइएको छ, जसलाई चितवनको सूर्योदय र सूर्यास्तको आकाशसँग जोडिएको छ । यसलाई पूरक बनाउन कालो रंग प्रयोग गरिएको छ, जसले शक्ति, सहनशीलता र एकताको प्रतीक दर्शाएको छ ।

अत्याधुनिक फ्याब्रिक प्रयोग गरिएको जर्सीले शरीरको तापक्रम सन्तुलनमा राख्ने, खेलाडीलाई सहज श्वासप्रश्वास र गतिशीलता उपलब्ध गराउने विशेषता रहेको टोलीले जनाएको छ ।

डिजाइनमा चितवनकै कथा समेटिएको छ । जिगज्याग आकृति आदिवासी समुदायको कलाकौशलबाट प्रेरित छ भने जर्सीको टेक्स्चरमा गैंडाको छालाको झल्को दिइएको छ । त्यस्तै, लोगोमा एकसिङ्गे गैंडाको प्रतीक राखिएको छ, जसले शक्ति, धैर्य र लडाकु भावनालाई प्रतिनिधित्व गरेको छ ।

जर्सी काठमाडौंको जर्सीपुल (JerseyPool), चितवनस्थित मर्च स्टोर, चितवन राइनोजको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत उपलब्ध हुने बताइएको छ ।

चितवन राइनोजका चेयरम्यान आयुष न्यौपानेले यो जर्सीलाई खेलाडीको सहजता मात्र नभई चितवनको संस्कृति र समुदायलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसरका रूपमा प्रस्तुत गर्न खोजिएको बताए । त्यस्तै, सिओओ डा. आशिष खड्काले गुणस्तर र डिजाइनका विषयमा विस्तृत छलफलपछि तयार पारिएको यो जर्सी क्रिकेट समर्थक र खेलाडी दुवैलाई प्रेरणा दिने विश्वास व्यक्त गरे ।

एनपीएल सिजन–२ मा यो नयाँ जर्सी टोलीलाई थप ऊर्जा दिने चितवन राइनोजले आशा व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्