
काठमाडौँ, असोज ११ ।
नेपाल बुदोकैदो फुल कन्ट्याक्ट कराते संघले शनिबार विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई सम्मान गरेको छ । विजयीदशमी, शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा आयोजना गरिएको कार्यक्रममा कराते खेलाडीलाई विशेष सम्मान प्रदान गरिएको हो ।
सम्मानित हुनेमध्ये अजरबैजानको बाकुमा सम्पन्न विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपका पदक विजेता सागर विष्ट, बविता कार्की, रोचक भारती, पूजा खड्का र सुदर्शन खतिवडा रहेका छन् । बविता, रोचक र पूजाले किक बक्सिङ तथा फुल कन्ट्याक्ट दुवै विधामा स्वर्ण पदक जितेका थिए । त्यस्तै, सागरले किक बक्सिङमा स्वर्ण र फुल कन्ट्याक्टमा रजत तथा सुदर्शनले किक बक्सिङमा रजत र फुल कन्ट्याक्टमा स्वर्ण पदक हात पारेका थिए । सोही प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी करुणा राउत क्षेत्रीलाई समेत सम्मान गरिएको छ ।

यस्तै, श्रीलंकामा भएको दक्षिण एसियाली फुल कन्ट्याक्ट कराते प्रतियोगिताको खुला तौलतर्फ स्वर्ण जितेका सनि सिंह, जापानमा आयोजित तेजुका कपमा एकल कातामा कांस्य पदक जितेकी दावा शेर्पा र थाइल्यान्डमा सम्पन्न १२ औं विश्व स्ट्रेन्थलिफ्टिङ तथा इन्क्लाइन बेन्च प्रेस प्रतियोगितामा पुरुष ५० वर्षमाथि ७६ केजी तौलतर्फ स्वर्ण जितेका केदारमान स्थापित पनि सम्मानित भए ।
कार्यक्रममा नेपाल फुल कन्ट्याक्ट कराते महासंघका नवनिर्वाचित अध्यक्ष सूर्यबहादुर बुढाथोकीलाई पनि सम्मान गरिएको थियो । उनीहरुलाई नेपाल क्योकुसिन कराते डो संघ (वज्र) का अध्यक्ष जगतप्रसाद गौचन, राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगतसिंह धामी र नेपाल बुदोकैदो फुल कन्ट्याक्ट कराते संघका अध्यक्ष वीरकृष्ण महर्जनले संयुक्त रूपमा सम्मान गरेका हुन् ।
सो अवसरमा महासंघका कोषाध्यक्षसमेत रहेका अध्यक्ष महर्जनले तिहारपछि आकर्षक नगद पुरस्कार राशीसहित प्रेसिडेन्ट कप फुल कन्ट्याक्ट कराते प्रतियोगिता आयोजना हुने जानकारी दिए । त्यस्तै, अध्यक्ष बुढाथोकीले फुल कन्ट्याक्ट करातेलाई राष्ट्रपति रनिङ सिल्डमा समावेश गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।





