वीरगञ्ज नाकाबाट दुई महिनामै १७ अर्बभन्दा बढीको निर्यात |



पर्सा। चालु आर्थिक वर्षका पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट रु १७ अर्ब ३ करोड मूल्य बराबरका वस्तु तथा सामान विदेश निर्यात भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा रु ६ अर्ब ५ करोड बराबरको मात्र निर्यात भए पनि यस वर्ष सो मात्रा बढेर रु १० अर्ब ९८ करोडले बढी भएको छ। यसरी निर्यात १८१ प्रतिशतले वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए। उनका अनुसार, अघिल्लो वर्ष वैदेशिक व्यापारको अनुपात १:२० रहेकोमा यस वर्ष १:६० मा सुधार भएको छ।

चालु वर्षको दुई महिनामा मात्रै रु ८ अर्ब ८४ करोड मूल्य बराबरको ४ करोड २८ लाख २४ हजार ८७१ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको छ। गत वर्ष यस्तै अवधिमा भने ४८० लिटर मात्र निर्यात भएको थियो, जसको मूल्य करिब तीन लाख थियो।

त्यस्तै, रु १ अर्ब २४ करोड मूल्य बराबरको १ करोड २६ लाख ९५ हजार ७३२ लिटर फलफूलको जुस निर्यात भएको छ। गत वर्ष यस्तै अवधिमा १ करोड ३६ लाख ४८ हजार १५५ लिटर जुस निर्यात भएको थियो, जसको मूल्य रु १ अर्ब २९ करोड थियो।

यसैगरी, चालु आवको दुई महिनामा रु १ अर्ब १७ करोड मूल्य बराबरको ३ करोड ४१ लाख १३ हजार २३० लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ। गत वर्ष यस्तै अवधिमा भने यसको निर्यात नगन्य मात्रामा सीमित थियो।

प्रतिक्रिया दिनुहोस्