महेन्द्रनगर आँखा अस्पतालमा भारतीय बिरामीको आकर्षण



कञ्चनपुर । भीमदत्त नगरस्थित महेन्द्रनगर आँखा अस्पताल पछिल्लो समय भारतीय नागरिकको समेत उपचार केन्द्र बनेको छ । सस्तो र गुणस्तरीय उपचारका कारण भारतका उत्तराखण्ड र उत्तर प्रदेशलगायतका सीमावर्ती सहरबाट बिरामी यहाँ आउने क्रम बढेको छ ।

अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीका अनुसार अत्याधुनिक मेसिनमार्फत आँखा परीक्षणदेखि शल्यक्रियासम्म सेवा उपलब्ध भएकाले भारतीय नागरिकसमेत आकर्षित भएका हुन् । गत आर्थिक वर्षमा अस्पतालले २४ हजार ७८० जनालाई सेवा दिएकोमा एक हजार ६६७ जना भारतीय रहेका थिए । सो अवधिमा छ सय ३४ जनाको मोतियाविन्दुको शल्यक्रिया र पाँच हजार ४१३ जनालाई चस्मा वितरण गरिएको थियो ।

वि.सं. २०४२ मा स्थापना भई २०७० मा स्तरोन्नति भएको यस अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया सेवा सुरु भएपछि बिरामीको चाप निरन्तर बढेको छ । तथ्याङ्कअनुसार आव २०७७/७८ मा १८ हजार ८१०, आव २०७८/७९ मा २३ हजार ८२६, आव २०७९/८० मा २३ हजार २१३ र आव २०८०/८१ मा २४ हजार ९५२ जनाले उपचार सेवा लिएका छन् ।

धामीका अनुसार मोतियाविन्दु र चस्मा आवश्यक पर्ने बिरामी बढी हुने गरेका छन् । “पैतालीस वर्षपछि धेरैलाई मोतियाविन्दुको समस्या देखिन्छ,” उनले बताए, “चोटपटक, गलत औषधि प्रयोग र जन्मजात कारणले पनि समस्या बढ्ने गरेको छ । यस्ता समस्या अत्याधुनिक मेसिन प्रयोग गरेर शल्यक्रिया गरिन्छ ।”

शनिबार शल्यक्रिया सेवा र अन्य दिन ओपिडी सञ्चालन हुने अस्पतालमा दैनिक एकदेखि डेढ सय बिरामी आउँछन् । यससँगै समुदायस्तरमा समेत अस्पतालले हरेक वर्ष शिविरमार्फत सेवा दिँदै आएको छ । गत वर्ष मात्र विद्यालयमा सञ्चालन गरिएका छ वटा शिविरमा एक हजार ९१३ विद्यार्थीको आँखा परीक्षण गरिएको थियो । त्यसमध्ये ६७ जनामा समस्या देखिँदा ४७ जनालाई चस्मा वितरण गरिएको थियो । समुदायमा गरिएको शिविरमा एक हजार ५५० जनाले सेवा लिएका थिए, जसमा एक सय ५० जनाको शल्यक्रिया गरिएको थियो ।

अस्पतालले आँखासम्बन्धी समस्या न्यूनीकरणका लागि स्वास्थ्य स्वयंसेवक र हेल्थ पोस्ट इन्चार्जलाई तालिम दिने गरेको छ । धामीले भने, “आँखामा समस्या देखिए तत्काल रेफर गर्न प्रशिक्षण दिने गरेका छौँ । हाम्रो उद्देश्य सस्तो र गुणस्तरीय उपचार समयमै उपलब्ध गराउनु हो ।” उनका अनुसार थप शल्यक्रिया मेसिन भित्र्याउन सके जटिल उपचार पनि सम्भव हुने भएकाले यसका लागि स्थानीय तह र प्रदेश सरकारको सहयोग आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्