सुदूरपश्चिममा रेबिज सङ्क्रमण बढ्दै, नियन्त्रणमा चुनौती |



कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा रेबिजको सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा परीक्षण गरिएका एक सय ७० नमुनामध्ये एक सय ३६ मा रेबिज पुष्टि भएको छ ।

सबैभन्दा बढी सङ्क्रमण कैलालीमा देखिएको छ । त्यहाँका ९८ नमुनामध्ये ७८ पोजेटिभ पाइएको छ । कञ्चनपुरमा ५३ मध्ये ४३, अछाममा सातमध्ये पाँच, डोटीका आठमध्ये छ, बझाङका तीन नमुनामा रेबिज पुष्टि भएको छ ।

जोशीका अनुसार रेबिज फैलाउनमा प्रमुख भूमिका कुकुरको छ । परीक्षण गरिएका ८७ कुकुरमध्ये ७२ मा सङ्क्रमण भेटिएको छ । त्यस्तै, भैँसीका ३२ मध्ये २२, गाईगोरुका २६ मध्ये २३, बाख्राका ११ मध्ये आठ, घोडाका दुई, बङ्गुरका सातमध्ये पाँच र खरायोको एउटा नमुनामा पनि रेबिज पाइएको छ ।

रेबिज रोग अन्वेषण तथा सर्भेलेन्स २०७६/७७ देखि सुरु गरिएको हो । सुरुमा दुई नमुनामात्र पोजेटिभ पाइएकामा २०७९/८० मा ३९, २०८०/८१ मा १५७ र चालु वर्ष १३६ पोजेटिभ देखिनु सङ्क्रमण बढ्दो क्रममा रहेको प्रमाण हो ।

“रेबिज जनावरबाट मानिसमा सर्ने रोग हो,” चिकित्सक जोशीले भने, “जङ्गली जनावर स्याल, ब्वाँसो, फ्याउरो आदिबाट घरपालुवा कुकुर–बिरालोमा सर्छ, अनि कुकुरले मानिसलाई टोकेर फैलाउँछ ।”

विश्व स्वास्थ्य सङ्गठन (WHO) का अनुसार हरेक वर्ष करिब ५९ हजार मानिसको मृत्यु रेबिजका कारण हुन्छ, जसको ९५ प्रतिशत अफ्रिका र एसियामा हुन्छ । नेपालमा वार्षिक एक लाखभन्दा बढी मानिसलाई जनावरले टोकेको तथ्याङ्क छ भने १५ देखि ३६ जनाको मृत्यु हुने गरेको पाइएको छ । नेपालमा करिब २९ लाख कुकुर रहेको अध्ययनले देखाएको छ ।

“रेबिजको लक्षण देखिएपछि उपचार सम्भव छैन, मृत्यु निश्चित हुन्छ,” जोशीले चेतावनी दिए, “त्यसैले रोकथाम नै प्रभावकारी उपाय हो ।” उनका अनुसार सङ्क्रमित जनावरले टोकेपछि साबुनपानीले घाउ सफा गरी सकेसम्म छिटो ‘एन्टी–रेबिज भ्याक्सिन’ लगाउनुपर्छ ।

रेबिज लागेपछि पानी पिउन गाह्रो हुने, पानीसँग डर लाग्ने, स्मरणशक्ति हराउने, ज्वरो आउनेजस्ता लक्षण देखिने गर्छन् । शरीरमा भाइरस प्रवेशको मात्राअनुसार लक्षण देखिने समय फरक हुने उनले बताए ।

जोशीका अनुसार केही विकसित मुलुकमा रेबिज नियन्त्रण भइसकेको छ भने कतिपयमा नियन्त्रणको दिशामा प्रगति भएको छ । तर नेपालमा अझै ठूलो चुनौती कायम छ । सामुदायिक कुकुरलाई नियमित खोप लगाउन सके रेबिज नियन्त्रण सम्भव हुने उनको भनाइ छ ।

विश्व रेबिज दिवस २०२५ को अवसरमा धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले सामुदायिक कुकुरलाई खोप लगाउने अभियान सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्