अलैँचीको निर्यातमा ४४ प्रतिशत वृद्धि



झापा। मेची भन्सार कार्यालयका तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो दुई महिनामा अलैँचीको निर्यात ४३.९० प्रतिशतले वृद्धि भएको छ। यस अवधिमा कुल ५२२ मेट्रिकटन अलैँची निर्यात हुँदा यसको मूल्य रु ८५ करोड ९६ लाख ११ हजार पुगेको छ।

अघिल्लो वर्ष सोही अवधिमा अलैँची निर्यात रु ५९ करोड ७३ लाख ५२ हजार बराबर मात्र थियो।

यसै अवधिमा चियाको निर्यात भने ३४ प्रतिशतले घटेको छ। चालु आवको दुई महिनामा रु ७५ करोड ३ लाख ४८ हजार मूल्य बराबरको चिया निर्यात भए पनि, अघिल्लो वर्षको सोही अवधिमा यो निर्यात रु १ अर्ब १३ करोड ७४ लाख ८ हजार थियो।

भन्सार कार्यालयका अनुसार निर्यात हुने अन्य मुख्य वस्तुहरूमा पनि परिवर्तन आएको छ। छुर्पी निर्यात ९८.३० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी १५५.२० प्रतिशत, भेनियर सिट ७४ प्रतिशत र मुसुरो दाल ६५५.१० प्रतिशतले वृद्धि भएको छ। अर्कोतर्फ, फलामे पाता ९३.४० प्रतिशत, अदुवा ४१.८० प्रतिशत र अम्रिसो ३०.१० प्रतिशतले घटेको छ।

मेची भन्सारबाट चालु आवको दुई महिनामा कुल रु ३ अर्ब ६ करोड ३७ लाख ३९ हजार मूल्य बराबरको मालवस्तु निर्यात भएको छ।

प्रतिक्रिया दिनुहोस्