पाँच दशकपछि धारापानी क्षेत्रमा विद्युत् सेवा



कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मुडका (मणिका) क्षेत्रमा विद्युत् विस्तारको काम तीव्र गतिमा अघि बढाइएको छ। नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले ठेक्का प्रक्रियामार्फत कार्य सुरु गरेको हो।

वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार, पोल गाड्ने काम र मजदुरको ज्याला वितरणको जिम्मेवारी वितरण केन्द्रले लिएको छ भने पोल, तार, ट्रान्सफर्मर लगायत सामग्रीको खरिद केन्द्रीय कार्यालयले गर्नेछ। यसका लागि करिब ६५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

विद्युतीकरणको लागि वितरण केन्द्रले कलौनी निर्माण सेवासँग ठेक्का सम्झौता गरेको छ। सम्झौताअनुसार पोल गाड्ने, तार तान्ने, इन्सुलेटर जडान गर्ने, ट्रान्सफर्मर राख्ने र विद्युत् सञ्चालनमा ल्याउने काम सम्पन्न गरिनेछ। हाल आवश्यक सामग्री ढुवानी भइसकेको र पोल गाड्ने काम तीव्र गतिमा अघि बढिरहेको छ।

धार्मिक क्षेत्र मुडकादेखि पर्यटकीय गाउँ धारापानीसम्म करिब पाँच किलोमिटर क्षेत्रमा विद्युत् पुर्‍याउने लक्ष्य राखिएको छ। यसका लागि ८२ वटा पोल जडान गरिने योजना छ। ठेक्का सम्झौताअनुसार ९० दिनभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ र तिहारअघि नै उक्त क्षेत्रमा बिजुली सेवा सुरु गर्ने तयारी छ।

विद्युतीकरणको काम अघि बढेपछि स्थानीय बासिन्दा र भक्तजनमा खुसी छाएको छ। वडा नं ९ का अध्यक्ष रमेशबहादुर ऐरले भने, “धार्मिक क्षेत्रमा विद्युत् अभावले भक्तजनले धेरै सास्ती भोगिरहेका थिए, अब त्यो समस्या अन्त्य हुँदैछ।”

धारापानीमा विसं २०२८ सालदेखि बस्ती भए पनि अहिलेसम्म विद्युत् सेवा पुगेको थिएन। करिब ३५ परिवारको बसोबास रहेको यस क्षेत्रमा स्थानीयले लामो समयसम्म टुकीको उज्यालोमा रात काट्दै आएका थिए। स्थानीय सायमले भने, “अब टुकीको उज्यालोमा बिताउने रात समाप्त हुँदैछ। विद्युत् नहुँदा मोबाइल चार्ज गर्न तीन किलोमिटर टाढाको गाउँसम्म जानुपर्थ्यो। पोल गाड्ने काम सुरु भएपछि हामी विद्युत् आउनेमा आशावादी भएका छौँ।”

यसै कार्यक्रमअन्तर्गत शुक्लाफाँटाको मुडका मात्र होइन, भीमदत्त नगरपालिकाको खल्लामुसेट्टि क्षेत्रमा पनि करिब ५५ घरधुरीलाई विद्युत् सेवा विस्तार गरिएको छ। त्यहाँ अढाई किलोमिटर क्षेत्रमा पोल गाड्ने, तार तान्ने र दुई ट्रान्सफर्मर जडान गरी सेवा सञ्चालनमा ल्याइएको छ।

श्रीवास्तवका अनुसार पुल विद्युतीकरण कार्यक्रममार्फत दोधारा–चाँदनी, बेदकोट नगरपालिका र कैलालीको गोदावरी नगरपालिका क्षेत्रसम्म पनि विद्युत् विस्तारको कार्य पूरा भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्