
काठमाडौँ । नेपालमा छेपारोका दुई नयाँ प्रजाति फेला परेका छन्। संरक्षणकर्मीहरूको एक टोलीले मकवानपुर र सिन्धुली जिल्लामा यी नयाँ प्रजाति पत्ता लगाएका हुन्।
नयाँ छेपारोहरू माउसुली परिवार (वेन्ट–टोड गेक्को) अन्तर्गत पर्छन्। मकवानपुरको मकवानपुरगढी र सिन्धुलीको हरिहरपुर क्षेत्रमा फेला परेका यी प्रजातिहरूलाई पहिचान गरी नामकरण गरिएको छ। संरक्षणकर्मी सन्तोष भट्टराईका अनुसार, यी प्रजाति विश्वका लागि नयाँ मानिनुका साथै दुई दिनअघि मात्रै अन्तर्राष्ट्रिय जर्नल ‘जुकिज’मा प्रकाशित भइसकेको छ। भट्टराई हाल फेडेरेसन युनिभर्सिटी, अस्ट्रेलियामा छेपारो विषयमा विद्यावारिधि अध्ययन गरिरहेका छन्।
यी दुई प्रजाति चुरे (सिवालिक) पर्वत श्रृंखलाबाट फेला परेका हुन्। चुरे क्षेत्र जैविक विविधतामा धनी भए पनि कम अध्ययन गरिएको छ। भट्टराईको टोलीले सन् २०२४ को जुन–जुलाई महिनामा यी प्रजाति पत्ता लगाएको थियो र हालै जर्नलमा प्रकाशन भएको हो।
मकवानपुरगढीमा भेटिएको छेपारोको नाम ‘मकवानपुर गढी वेन्ट–टोड गेक्को’ र सिन्धुलीको हरिहरपुरमा भेटिएको छेपारोको नाम ‘चुरे वेन्ट–टोड गेक्को’ राखिएको छ।
मुख्य शोधकर्ता भट्टराईको टोलीले गत वर्ष पनि नेपालबाट वेन्ट–टोड गेक्को प्रजाति अन्तर्गत तीन नयाँ प्रजाति फेला पारी नामकरण गरिसकेको थियो।
गेक्कोनिडे परिवारमा संसारभर ३८० भन्दा बढी प्रजाति पाइन्छ भने नेपालमा हालसम्म फेला परेका प्रजाति संख्या सात पुगेको छ। जसमध्ये पाँच प्रजाति भट्टराई नेतृत्वको टोलीले पत्ता लगाएको हो।
विशेषज्ञहरूले बताएका छन् कि नेपालमा धेरै संरक्षण प्रयास ठूला स्तनधारी वन्यजन्तुमा केन्द्रित छन्। यसैले अझै थुप्रै प्रजाति पत्ता लाग्न बाँकी रहेको छ। सरीसृप र अन्य कम अध्ययन भएका प्रजातिहरूको खोज, अध्ययन र संरक्षणलाई प्राथमिकता दिन आवश्यक देखिएको छ।
अध्ययनमा नेपालका सन्तोष भट्टराई, विवेक गौतम, विशाल न्यौपाने, भारतका अक्षय खान्देकर, तेजस ठाकरे, इशान अगर्वाल, अस्ट्रेलियाका आश ओल्सन, फिओना होगन र वेएन्डी राइट सहभागी थिए।
वरिष्ठ संरक्षणकर्मी करण शाहका अनुसार, यी माउसुली परिवारका छेपारो कीरा–फट्याङ्ग्रेको नियन्त्रण गर्न सक्षम छन्, बालीनाली र लुगाफाटोको क्षति कम गर्छन् र अन्य जीवजन्तुको आहारा पनि हुन्। यसले जैविक प्रणालीमा सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ र औषधिका रूपमा पनि प्रयोग हुन्छ।
गत वर्ष फेला पारिएका तीन प्रजातिमध्ये एक प्रजातिको नाम वरिष्ठ वन्यजन्तु विज्ञ प्रोफेसर करणबहादुर शाहको योगदानको सम्मान स्वरूप ‘करण वेन्ट–टोड गेक्को’ राखिएको थियो।





