तुइनखोलामा अलपत्र यात्रुका लागि निःशुल्क बस सेवा |



चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खसेर अवरुद्ध भएका यात्रुलाई सहयोग पुर्‍याउन नेपाल प्रहरीले निःशुल्क बस सेवा सुरु गरेको छ । विगत दुई दिनदेखि सडक अवरुद्ध हुँदा अलपत्र यात्रुलाई लक्षित गर्दै प्रहरीले आफ्नो बसमार्फत यातायात सुविधा उपलब्ध गराएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीका अनुसार मङ्गलबारदेखि शान्तिपुरस्थित प्रहरी स्कुलका दुई वटा बस प्रयोग गरी सेवा सुरु गरिएको हो । तनहुँतर्फको बाटो हुँदै पाँच किलोसम्म पैदल पुगेका यात्रुलाई भरतपुरसम्म निःशुल्क ल्याउने व्यवस्था मिलाइएको उनले बताए ।

“पहिरोका कारण लामो समयसम्म सडक खुल्ने सम्भावना नभएकाले हिँड्दै आएका यात्रुलाई सहज बनाउन निःशुल्क बस सेवा सञ्चालनमा ल्याएका हौँ,” एसपी पुरीले भने । यात्रुहरू पाँच किलोमा जम्मा भएपछि प्रहरीले खबर गरी बस पठाउने गरेको छ । सुरुमा पहिरो क्षेत्रबाटै यात्रु ल्याइए पनि हालदेखि पाँच किलोबाट सेवा दिइन थालेको छ ।

गत शुक्रबार खसेको पहिरो पन्छ्याएर सडक सञ्चालनमा ल्याइएको भए पनि मङ्गलबार पुनः ठूलो पहिरो खस्दा फेरि सडक अबरुद्ध भएको हो । बिहानैदेखि पहिरो पन्छ्याउने काम भइरहेको र शुक्रबारसम्म सडक खुल्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्