
सिमकोट । दसैँ सुरु भएसँगै रोजगारी र अध्ययनका शिलशिलामा बाहिर रहेका हुम्लाबासी धमाधम गाउँ फर्किन थालेका छन् । यससँगै केही समयदेखि सुनसान बनेका गाउँबस्ती पुनः चहलपहलले भरिएका छन् ।
काठमाडौँ, पोखरा, सुर्खेत, नेपालगञ्जलगायतका शहरमा अध्ययनरत विद्यार्थीदेखि रोजगारीमा रहेका नागरिकसम्म आफ्ना परिवारसँग चाडपर्व मनाउन गाउँ फर्किएपछि गाउँघरमा भीडभाड बढेको हो । यस वर्ष सडक सञ्जाल पुगेकाले घर फर्किनेको संख्या विगतको भन्दा उल्लेख्य बढेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब निरीक्षक शंकर पोखरेलले जानकारी दिए । कुबाडी प्रहरी चौकीका अनुसार यस पटक हुम्ला प्रवेश गर्ने सवारीसाधनको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
गाउँतर्फ चहलपहल बढेसँगै सदरमुकाम सिमकोट भने सुनसान बन्दै गएको छ । काम, अध्ययन र रोजगारीका लागि सिमकोटमै बस्नेहरू समेत गाउँ फर्किन थालेपछि यहाँको गतिविधि क्रमशः घट्दै गएको हो ।
अदानचुली गाउँपालिकाकी स्थानीय चामुण्डा रोकायाका अनुसार गाउँमा रोजगारी नपाए पनि चाडपर्वमा घर फर्कने परम्परा नटुट्ने गरेको छ । बर्खाको खेती सकाएर हुम्लाका अधिकांश बेरोजगार युवा खर्च जुटाउन तल्लो हुम्लाबाट भारततर्फ र माथिल्लो हुम्लाबाट चीनको ताक्लाकोटतर्फ जाने गरेका छन् । कात्तिक–मङ्सिरमा उवा, गहुँ, जौँ र असारमा धान, मकै, आलु, कोदो जस्ता बाली लगाउने बेला भने उनीहरू गाउँमै फर्किने गर्छन् ।
सिमकोट गाउँपालिका–१ का प्रेम भण्डारीले गाउँमै रोजगारीको अवसर नहुँदा पुस्तौंदेखि हुम्लाबासीलाई बाहिरिनुपर्ने बाध्यता झेल्नु परेको बताए । कृषिप्रति युवाको आकर्षण घट्दै गएसँगै धेरैजसो युवा अहिले पनि ताक्लाकोटतर्फ जाने गरेको उनको भनाइ छ ।





