अन्नपूर्ण गाउँपालिकामा घरमै सुत्केरी हुने शून्य |



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा लगातार दोस्रो वर्ष घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ । सुरक्षित मातृशिशु स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले स्थानीय तहले सञ्चालन गरेका कार्यक्रम प्रभावकारी भएपछि सबै गर्भवतीले स्वास्थ्य संस्थामै प्रसूति गरेका हुन् ।

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक समुद्र बरुवालका अनुसार पछिल्ला दुई वर्षयता अन्नपूर्णका कुनै पनि महिलाले घरमै प्रसूति गरेका छैनन् । ‘सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएका कारण सबैले स्वास्थ्य संस्थाबाटै दक्ष स्वास्थ्यकर्मीको सहयोगमा प्रसूति गरेका छन्,’ उनले बताए ।

आर्थिक वर्ष २०८१/८२ मा ७९ र २०८०/८१ मा ९१ जनाले सुरक्षित संस्थागत प्रसूति सेवा लिएका छन् । यसअघि २०७९/८० मा १३९ मध्ये १३५ जनाले स्वास्थ्य संस्थामा प्रसूति गर्दा एक जनाले घरमै सुत्केरी भएकी थिइन् भने चार शिशु मृत जन्मिएका थिए । २०७८/७९ मा भने १२७ जनाले संस्थागत प्रसूति गरेका थिए ।

घरमै असुरक्षित प्रसूति कम गर्न गाउँपालिकाले ‘आमासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरेको उपाध्यक्ष दिवा तिलिजा पुनले जानकारी दिइन् । उनका अनुसार नियमित गर्भ परीक्षण, समयमै स्वास्थ्य संस्थामा सुत्केरी सेवा र पोषण सुधारका गतिविधिले मातृशिशु मृत्युदर घटाउन सहयोग पुगेको छ ।

सुरक्षित प्रसूति र गर्भ परीक्षणलाई प्रोत्साहन गर्न गाउँपालिकाले स्वास्थ्य संस्थामा परीक्षण गर्दा प्रत्येक पटक एक क्रेट अण्डा दिने र संस्थागत प्रसूति गर्ने महिलाको घरमै पुगेर एक भाले हस्तान्तरण गर्ने परम्परा सुरु गरेको छ । सुत्केरी जाँच गराउँदा थप अण्डा, सर्वोत्तम पिठो र न्यानो कपडा समेत वितरण गरिन्छ ।

यस किसिमको प्रोत्साहनका कारण गर्भ परीक्षण र सुरक्षित प्रसूति शतप्रतिशत पुगेको घार स्वास्थ्य चौकीका अहेब मातृकाप्रसाद जोशीले बताए । उनका अनुसार नियमित जाँचले आमा र शिशुको स्वास्थ्यमा समस्या पहिचान र जोखिम व्यवस्थापन सहज भएको छ ।

अन्नपूर्ण गाउँपालिकाका आठ वडामध्ये दोवा र दाना बाहेकका सबै वडामा प्रसूति सेवा केन्द्र सञ्चालनमा छन् । वडा नं. ५ पाउद्वारको सामुदायिक स्वास्थ्य एकाइमा पनि प्रसूति केन्द्र स्थापना गरिएको छ । गाउँपालिकाले संघीय तथा प्रदेश सरकारको अनुदानसँगै वार्षिक करिब एक करोड रुपैयाँ यस कार्यक्रमका लागि छुट्याएको अध्यक्ष भरतकुमार पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्