ज्वाङखोलामा पुनः पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध



धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोला र तिङराङखानी क्षेत्रमा पहिरो खस्दा पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको छ । ठूलो परिमाणमा माटो र ढुङ्गा खस्दा दुबै तर्फको यातायात ठप्प भएको हो । आज बिहान करिब १० बजेदेखि पहिरो झर्न सुरु भएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार पहिरो हटाउने कार्य भइरहेको छ । दसैँमा घर फर्किने यात्रुको भीड बढिरहेका बेला सडक बन्द हुँदा हजारौँ सवारीसाधन बाटैमा रोकिएका छन् । ती सवारीलाई सम्भावित जोखिम कम हुने स्थानमा सार्न सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

सडक अवरुद्ध क्षेत्रमा मात्र नभई अन्य स्थानमा पनि पहिरोको उच्च जोखिम रहेकाले यात्रुलाई सतर्क रहन र आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

यसअघि सोमबार राति सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग करिब १७ घण्टा अवरुद्ध बनेको थियो । बुधबार बेलुकी खसेको पहिरो बिहान पन्छाएर सडक सञ्चालन गरिएको भए पनि आज पुनः अवरुद्ध हुन पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्