
महोत्तरी ।
दशैं नजिकिँदै गर्दा महोत्तरीलगायत मधेसका ग्रामीण बस्तीमा गरीब परिवारले माटो बेचेर पर्व खर्च जुटाउन थालेका छन् । वर्षभरि खेतपातीमा मजदुरी गर्ने श्रमिक नवरात्र सुरु भएलगत्तै विभिन्न रङका माटो संकलन गरी बेचेर अतिरिक्त आम्दानी गर्दै छन् ।
दशैं, तिहार र छठपर्वअघि घर लिपपोत गर्ने परम्पराले यहाँ विभिन्न रङका माटोको माग बढ्ने भएकाले गरीब परिवारले यसलाई आयआर्जनको अवसर बनाएका छन् । दशैंका लागि विशेष गरी कमेरे (सेतो), चिम्टाइलो (पहेँलो) र रातो माटोको माग बढी हुन्छ । पहेँलो र कमेरे माटो पोखरीको डिल, नदी किनार र पुराना खाल्डामा पाइन्छ भने रातो माटो चुरे पहाडका थुम्काबाट ल्याउनुपर्ने स्थानीय हेमनी सदा मुसहरले बताइन् ।
“हामीसँग पर्वका लागि छुट्याएर राखेको केही हुँदैन । दैनिक ज्यालादारीमै जीवन चल्छ”, मुसहरले भनिन्, “दशैं मेलामा खर्च गर्न अहिले माटो बेचेरै जोहो गर्दैछौं ।” उनका अनुसार बस्तीबस्तीमा महिला समूहले माटो खन्न, संकलन गर्न र बजारमा पुर्याउन सुरु गरिसकेका छन् ।
भङ्गाहा–६ की पुर्नी महराले नवरात्र सुरु भएयता पाँच हजार रुपैयाँ बराबरको माटो बेचिसकेकी छन् । उनले अझै दुई–तीन दिनमा थप पाँच–सात हजार रुपैयाँ आम्दानी हुने विश्वास व्यक्त गरिन् । “दशैंमा घर पोत्ने रङरोगनका काम पाउने भएकाले सामान्य दिनभन्दा बढी आम्दानी हुन्छ, यसले श्रमिक परिवारलाई राहत दिने गर्छ,” महराले भनिन् ।
थारु बस्तीमा यो गतिविधि झनै चहलपहलपूर्ण देखिन्छ । भङ्गाहा, मेघरोल, मझौलिया, बनरा, पर्सा, धरमपुर, भीमगढ, गोरहन्ना, निगौल, बिसरपुर गौशाला, रजखोरबिर्ता र धनसपुरलगायत क्षेत्रमा थारु महिलाले घर पोत्न प्रयोग हुने माटो संकलन र बिक्रीलाई आम्दानीको मुख्य साधन बनाएका छन् । घर सरसफाइ र सजावटमा थारु महिला अगाडि देखिने भएकाले यसले अन्य समुदायका महिलालाई पनि आकर्षित गरेको छ ।
स्थानीय आसवती चौधरीका अनुसार, अहिले संकलन गरिएको माटो दशैंपछि पनि तिहार र छठसम्म बिक्री हुन्छ । “माटो बेचेर जम्मा भएको रकमले मेलामा रमाइलो गर्ने र छोराछोरीका रहर पूरा गर्ने अवसर पाइन्छ,” उनले भनिन् ।
ग्रामीण कच्चीघरका भित्तालाई चिटिक्क देखाउन प्रत्येक वर्षको दशैं, तिहार र छठमा माटोले पोत्ने परम्परा यथावत रहेकाले श्रमिक परिवारलाई यो अतिरिक्त आयको अवसर बनेको हो । यद्यपि पछिल्लो समयमा पक्कीघर बढ्दै गएपछि यो परम्पराले चुनौती भोग्न थालेको महिलाहरूको भनाइ छ ।





