
बागलुङ, असोज ९ गते ।
लगातारको वर्षासँगै पहिरोका कारण अवरुद्ध बनेको बागलुङ–बलेवा–कुश्मिसेरा सडक करिब तीन महिनापछि पुनः सञ्चालनमा आएको छ । असार महिनादेखि बन्द रहेको यो सडक बुधबारदेखि सञ्चालनमा आएको हो ।
बागलुङ नगरपालिका–१० दब्ल्याङ क्षेत्रमा करिब १०० मिटर सडक भाँसिएपछि यातायात अवरुद्ध भएको थियो । सडक खोल्न डोजरसहितका उपकरण प्रयोग गरिए पनि निरन्तर वर्षाका कारण काममा ढिलाइ भएको पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ ।
सडक बन्द हुँदा दक्षिण बागलुङका गलुवा, भकुण्डे, पैयुँपाटा, अमलाचौरलगायतका हजारौँ बासिन्दा लामो समय सास्तीमा परेका थिए । सामान्य अवस्थामा बलेवाबाट २० मिनेटमै सदरमुकाम बागलुङ बजार पुग्न सकिने भए पनि सडक अवरुद्ध हुँदा यात्रुहरूलाई दुई घण्टा लामो वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता थियो ।
पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी तथा इञ्जिनियर अनिल बर्देवाका अनुसार गण्डकी प्रदेश सरकारको लागत स्वीकृति प्रक्रिया जारी भए पनि बडादसैँ नजिकिएकाले नागरिकको आवतजावत सहज बनाउन अस्थायी रूपमा सडक सञ्चालनमा ल्याइएको हो । उनका अनुसार पहिरो पन्छाउन दुई दिनसम्म जनशक्ति र उपकरण परिचालन गरिएको थियो ।
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले विगत तीन वर्षयता यस क्षेत्रमा पहिरो व्यवस्थापनका लागि एक करोडभन्दा बढी खर्च भइसकेको जानकारी दिए । अघिल्लो वर्ष मात्रै करिब ५० लाख खर्च गरी पहिरो माथिको पानीलाई न्वारे खोलामा मोड्ने र सडक वरिपरि जाली लगाउने काम गरिएको उनले बताए । भूगर्भविद्हरुको अध्ययन प्रतिवेदनअनुसार स्थायी समाधानका लागि अझै पर्याप्त बजेट आवश्यक रहेको उनको भनाइ छ । चालु आर्थिक वर्षमा संघीय सरकारले यस क्षेत्रमा पहिरो व्यवस्थापनका लागि तीन करोड रुपैयाँ विनियोजन गरेको पनि उनले जानकारी दिए ।
सडक अवरुद्ध हुँदा कालीगण्डकी करिडोरसमेत प्रभावित भएको छ । तरकारी र दुग्धजन्य उत्पादन बजारसम्म पुर्याउन किसानहरूलाई ठूलो कठिनाइ भोग्नुपरेको छ । स्थानीय किसान कुलराज पौडेलका अनुसार वैकल्पिक बाटो प्रयोग गर्दा ढुवानी खर्च दोब्बर हुने गरेको छ ।





