दाहाल प्रतिष्ठानद्वारा विभिन्न व्यक्तित्वलाई सम्मान



विराटनगर, असोज ८ गते ।
दाहाल वन्धुहरूको साझा संस्था दाहाल प्रतिष्ठानले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान गर्ने भएको छ।

प्रतिष्ठानका निवर्तमान केन्द्रीय अध्यक्ष शालिग्राम दाहालका अनुसार, स्व. विद्यादेवी, बाबुराम–सरस्वती दाहाल सेवाकोषबाट स्थापित ‘विराट सामाजिक सम्मान’ यसवर्ष पं. भवानी शंकर निरौला, माया घरकी सुभद्रा प्याकुरेल र मानव सेवा आश्रमका नवराज केसीलाई प्रदान गरिनेछ। सोही कोषबाट बराहक्षेत्र गुरुकुलका युगल दाहाल र उदयपुर गुरुकुलका पुष्पराज भट्टराईलाई नगद पुरस्कार दिइनेछ।

त्यसैगरी, **‘स्व. पं. जानकीवल्लभ–चन्द्रप्रभा दाहाल स्मृतिकोष’**तर्फबाट दमककी कुलवधु दोयनालाई सामाजिक सम्मान र यमुना कोइराला दाहाललाई वर्ष कुलवधु सम्मान प्रदान गरिनेछ।

स्व. पदमप्रसाद–अम्बिकादेवी दाहाल स्मृतिकोषअन्तर्गत भक्ति दाहाललाई लेखन तथा साहित्य सम्मान दिइनेछ। सोही कोषबाट नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकलाई पत्रकारिता सम्मान, सुमितकुमार खड्कालाई राष्ट्रिय गायक सम्मान र ललित नारायण राजवंशीलाई वर्ष खेलाडी सम्मानबाट सम्मानित गरिनेछ।

त्यस्तै, **‘स्व. चन्द्रकान्त–दिब्यश्वरा दाहाल स्मृतिकोष’**तर्फबाट धनमाया दाहाललाई वर्ष आमा सम्मान दिइनेछ भने पोखरिया मा.वि.का उदय सिटौला र आदर्श मा.वि.की सुभेक्षा दाहाललाई उत्कृष्ट छात्र–छात्रा सम्मानबाट पुरस्कृत गरिनेछ।

प्रतिष्ठानका महासचिव सूर्य दाहालका अनुसार, सोही अवसरमा बाबुराम दाहाललाई अक्षय कोषदाता सम्मान, कमलराज दाहाललाई जग्गादाता सम्मान र धिरेन्द्र दाहाललाई संरचना निर्माता सम्मान समेत प्रदान गरिनेछ।

यी सबै सम्मान तथा पुरस्कार समर्पण कार्यक्रम नवरात्र महोत्सवको अवसरमा असोज ११ गते प्रतिष्ठानको शाखा कार्यालय विराटनगरमा विशेष समारोहमार्फत गरिनेछ।

प्रतिक्रिया दिनुहोस्