
काठमाडौं, असोज ८।
एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रबार भारतको अहमदाबाद प्रस्थान गर्ने भएको छ।
सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म चल्ने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन्।
पुरुषतर्फ अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन महर्जन, अभिभ प्रधान, रेवन्तबहादुर श्रेष्ठ, जाडेन श्रेष्ठ, निर्णय थापा, अथर्व सिंह र वसिष्ठराज शाही सहभागी हुने छन्। महिलातर्फ आर्या महर्जन, टिशा महर्जन, अदिप्शा वैद्य, श्रेणु महर्जन र भैनवी श्रेष्ठ प्रतिस्पर्धा गर्नेछन्।
टोलीमा प्रशिक्षक शंकर कार्की, अफिसियल दीपक सागर सिंह महर्जन, नविना श्रेष्ठ, सुमन महर्जन र इन्द्रजित राजभण्डारी तथा निर्णायक विष्णु खड्का क्षेत्री र अनिश महर्जन रहेका छन्।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले सातदोबाटोमा आयोजित कार्यक्रममा बिदाइ गरे।





