‘योद्धा’ काव्यका श्लोकमा आधारित गीत सार्वजनिक



काठमाडौं ।
महाकाव्यकार खेमनाथ दाहालको २०६० सालमा प्रकाशित कृति ‘योद्धा’ का श्लोकमा आधारित गीत राजधानीमा सार्वजनिक गरिएको छ । मिलापको आयोजनामा मंगलबार विशेष समारोहबीच गीतको भिडियो विमोचन गरिएको हो ।

‘लालीगुराँसको साटो रक्तरञ्जित भो वन, द्यौराली अनि पाखामा लासको टाकुरा किन ?’ भन्ने पंक्ति समेटिएको यो गीतले साहित्य, संगीत र इतिहासलाई एउटै थलोमा प्रस्तुत गरेको चर्चा कार्यक्रमभरि सुनियो ।

समारोहमा प्रमुख अतिथि प्रा. शैलेन्द्रु प्रकाश नेपालले भिडियो सार्वजनिक गर्दै दाहाललाई विविधताको संगम भएको स्रष्टा भन्दै गीत आज पनि उत्तिकै सान्दर्भिक रहेको टिप्पणी गरे । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष र साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले गीत र भिडियो दुवै प्रभावकारी बनेको बताए ।

गीतमा स्वर दिएका कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले ‘काव्यका गहिरा श्लोकलाई गीतमा ढाल्नु चुनौतीपूर्ण भए पनि त्यही कठिनाइले प्रेरणा दिएको’ अनुभव बाँडे । गजलकार घनेन्द्र ओझाले सन्तोष र दाहालको सहकार्यबाट अझ धेरै कालजयी सिर्जना आउने विश्वास व्यक्त गरे ।

गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले दाहाल गीतकारका रूपमा पनि सशक्त देखिनु गौरवको विषय भएको बताए । आफ्ना काव्यका श्लोकलाई स्वर दिएकोमा दाहालले खुशी व्यक्त गर्दै सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन गरे ।

समारोह वरिष्ठ संगीतकार राजु सिंहको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदी, कवि रूपक अलंकार, गायक रमेश पाठक, कलाकार शीला गजुरेललगायत साहित्य, संगीत र चलचित्र क्षेत्रका अनेक व्यक्तित्वको उपस्थिति थियो ।

राजु कार्कीको संगीत संयोजन र प्रकाश मिश्रको सम्पादन रहेको गीतको भिडियो कृष्ण भुसालले निर्देशन गरेका हुन् । राजन खरेलले छायांकन र दृश्य सम्पादन गरेका भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठसहित कलाकारहरूको अभिनय देख्न सकिन्छ ।

Link :

प्रतिक्रिया दिनुहोस्